काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले संसद् बैठकमा निलो स्कार्फ लगाएर नाराबाजी गरेपछि नेपाली कांग्रेसले नियमापत्ति जनाएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले नियमापत्ति जनाएका हुन् ।
उनले संसदमा मर्यादित पोशाकमा आउने व्यवस्था गरिएको स्मरण गराउँदै रास्वपाका सांसदहरूले लगाएको स्कार्फ मर्यादित पोशाकभित्र पर्छ कि पर्दैन भन्ने प्रश्न गरे ।
उनले भोलिका दिनमा कोही हाफ पाइन्ट तथा कोही जथाभाबी ड्रेसमा आए के गर्ने भन्दै प्रश्न गरे । उनले यस प्रकारका व्यवहार गर्ने सांसदहरूलाई सभामुखले चेतावनी दिनुपर्ने र संसद बैठकबाटै निष्कासन गर्नुपर्ने भन्दै ध्यानाकर्षण गराए ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक मुछिनुभएको आरोप लगाउँदै राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै रास्वपाका सांसदहरूले लगातार संसद अवरोध गर्दै आएका छन् । उनीहरूले गत जेठ १३ देखि संसद अवरोध गर्दै आएको हुन् ।
मंगलबारको प्रतिनिधि सभा बैठकमा पनि रास्वपाका सांसदहरूले निलो स्कार्फ लगाएर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका छन् ।