काठमाडौं : घरजग्गा व्यवसायीहरू अझै पनि पर्ख र हेर कै अवस्थामा रहेको देखिएको छ । वैशाखको तुलनामा संघीय सरकारको बजेटपछि घरजग्गाको कारोबार बढ्ने अनुुमान गरिएको भएपनि कारोबार बढ्न सकेको छैन । चालु आर्थिक वर्ष २०८१/८२ को जेठ महिना घरजग्गाको कारोबार घटेको छ ।
चालु आर्थिक वर्षको जेठ महिनामा गत आर्थिक वर्षको सोही महिनाको तुलनामा घरजग्गाको कारोबार करिब १२ प्रतिशतले घटेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले देखाएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को जेठ महिनामा देशभर ५६ हजार १० वटा घरजग्गा कारोबार भएको छ । यो संख्या अघिल्लो वर्षको सोही महिनाको तुलनामा करिब ५ हजार कम हो । गत वर्षको जेठमा ६१ हजार १ सय ६१ वटा लिखत पास भएको थियो ।
तर, वैशाखको भन्दा घरजग्गाको कारोबार बढेपछि गत वर्षको जेठको तुलनामा कारोबार घटेको हो । वैशाखमा ५२ हजार ४ सय २३ वटा घरजग्गा कारोबार भएको थियो । बैंकमा लगानी योग्य रकम थुप्रिँदा समेत घरजग्गामा लगानी बढ्न सकेको छैन । बैकहरूको ब्याजदर ८ प्रतिशत भन्दा तल आउँदा समेत लगानीकर्तामा घरजग्गाको कारोबारमा उत्साह छैन ।
तथ्यांकअनुसार जेठमा जग्गाको कित्ताकाट समेत कम भएको छ । गत वर्षको जेठमा ७२ हजार ६७५ वटा कित्तालाई टुक्र्याएर १ लाख ६५ हजार चार सय कित्ताकाट गरिएको थियो । तर, चालु आर्थिक वर्षको जेठमा ६४ हजार ४६५ वटा कित्तालाई १ लाख ४५ हजार ९ सय ८ कित्ताकाट भएको छ । जेठमा भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर, झापाबाट घरजग्गाको धेरै कारोबार बढेको छ । सरकारले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी रोक्न जेठ १३ गते जारी गरेको निर्देशनले समेत घरजग्गा कारोबारीहरू झस्किएको देखिन्छ ।