काठमाडौं : एभरेष्ट बैंक लिमिटेड र चिनो हाइड्रोपावर लिमिटेडबीच चिनो खोलामा ७.८३ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गर्न १३६ करोड वित्तीय व्यवस्थापन गर्न सहमति भएको छ । उक्त सहमतिपत्रमा एभरेष्ट बैंकका तर्फबाट कार्यकारी प्रमुख सुदेश खालिङ र चिनो हाइड्रो पावरका तर्फबाट अध्यक्ष बिजयबहादुर श्रेष्ठद्वारा हस्ताक्षर गरेका छन् ।
मनाङ जिल्लाको नासोङ गाउँपालिकामा अवस्थित उक्त परियोजना बुटवल पावर कम्पनी लिमिटेडद्वारा प्रवर्धित परियोजना हो । यस परियोजना दुई वर्षमा सम्पन्न गर्न चाइनिज ठेकेदारई इपिसी मोडलमा ठेक्का लगाइएको छ र यसबाट उत्पादित विद्युत मनाङ जिल्लाको धारापानीस्थित सब स्टेसनबाट राष्ट्रिय ग्रिडमा जोडिने जनाइएको छ ।
यस परियोजनाको लागि नेपाल विद्युत प्राधिकरण र चिनो हाइड्रो पावर लिमिटेडबीच विद्युत खरिद बिक्री सम्झौता २०८२ वैशाखमा सम्पन्न भइसकेको छ । यस परियोजनाबाट वार्षिक ४४.४६३ गिगावाट आवर विद्युत उत्पादन हुनेछ ।