अर्घाखाँची : २०६६ सालदेखि निर्माण सुरू भएको सालझण्डी–सन्धिखर्क ढोरपाटन सडकको १९ सय ७ किलोमिटर सडकमध्ये हालसम्म २५ किलोमिटर मात्रै सडक कालोपत्रै भएको छ । यो सडकको धेरै खण्ड ग्राभेल भएको छ भने कच्ची सडकको काम सकिएकाले धेरै ठाउँमा कालोपत्र गर्ने काम दु्रत गतिमा अगाडि बढेपनि रकम अभावले सडकको काम अलपत्र पर्ने सम्भावना बढेको सालझण्डी ढोरपाटन सडक आयोजनाका प्रमुख गागल बहादुर भण्डारीले बताए ।
करिब ८ अर्बको डीपीआर भएको सडकमा आ.व २०८०/८१ मा सुरू बजेट मात्र १७.८७ करोड विनियोजन भएको र सोही आ.व.मा ५०.८७ खर्च भएको थियो ।
आर्थिक वर्ष २०८१/०८२ मा मन्त्रालयले ४५ करोड बजेट विनियोजन गरेकोमा गत आ.व.२०८०/०८१ को दायित्व रकम रु.१६ करोड ६४ लाख भुक्तानी गर्दा योजनामा २८.३६ करोड बजेटबाट काम सुरू गरिएको थियोे । गत वर्ष ४५ करोड बजेट प्राप्त भएको आयोजनामा आर्थिक वर्ष २०८१/०८२ मा ३८ करोड बजेट सिलिङ छ ।
पाल्पाको खुर्सानेदेखि अर्घाखाँचीको पटौटीसम्मको २२ किलोमिटर सडक पिके अर्घाखाँची जेभिले दु्रत गतिमा कालोपत्रे गरेपनि सो कम्पनीलाई आयोजनाले जेठ मसान्तसम्म २५ करोड भुक्तानी गर्न बाँकी रहेको छ ।
यता बिरुवा पुष्पा जेभीको माटेदेखि गुल्मीको सिर्सेनीसम्मको २६ किलोमिटर सडकमा काम सम्पन्न भएपनि जेठ मसान्तसम्म ५ करोड भुक्तानी गर्न बाँकी रहेको छ । ब्राइट हिमाल एमएम जेभीले पनि गुल्मीको सिर्सेनीदेखि बाग्लुङको अर्खाबाङ सडककोमा काम गरेको ५ करोड भुक्तानी लिन बाँकी रहेको छ । यस वर्ष ३५ करोड भन्दा बढी रकम निर्माण कम्पनीलाई तिर्न बाँकी रहेको आयोजनाले जनाएको छ ।
अर्को वर्षबाट काम सुरू हुने बहुवर्षीय आयोजना अन्तर्गत लगाइएका ठेक्काको ३ करोड बढी रकम निर्माण कम्पनीलाई पेश्की दिन कार्यालयसँग रकम नभएको लेखा अधिकृत योगेश पन्थीले बताए ।
आयोजना निर्माण गर्न लागेको १३ वर्षको अवधिमा झण्डै ३ अर्ब ३५ करोड रुपैयाँ खर्च भएको सालझण्डी–सन्धिखर्क सडक योजना प्रमुख भण्डारीले मध्यान्हलाई जानकारी दिए ।
सन्धिखर्कको बजार क्षेत्रमा विवाद भएका कारण ओल्ला खोलादेखि रुब्दी, बराह बुटासम्म ठेक्का निकाल्न समस्या भएको योजना प्रमुख भण्डारीको भनाइ छ ।
सुरूमा यही सन्धिखर्कको विवादले गर्दा काममा ढिलाइ भएको थियो । पछि टुक्रा–टुक्रा गरेर ठेक्का र उस्तै गरी बजेट आएपछि यो सडक निर्माणले दु्रत गति लिन सुरू गरेको योजनाका इन्जिनियरहरु बताउँछन् ।
बजेट अभावकै कारण निर्माण कार्यले गति लिन नसकेको प्रमुख भण्डारीले स्वीकार गरे । अहिले परियोजना अन्तर्गत पाँच वटा ठेक्काको काम भइरहेको छ । पाँचवटा ठेक्का बहुवर्षे ठेक्का हुन् । सबै ठेक्कामा भुक्तानी दिने बजेट कार्यालयसँग नभएको र निर्माण व्यवसायी समेत पैसा नभएपछि काम गर्न उत्साहित नभएको भण्डारीले गुनासो गरे ।
बाग्लुङको बुर्तिवाङ्गदेखि फल्लेघरसम्मको २२ किलोमिटर ठेक्कामा पनि ५ करोड तिर्न बाँकी छ । कार्यालयमा बजेट अभाव भएपछि निर्माण व्यवसायीलाई काम गर्न ताकेता लगाउन नसकिने भएकाले काम गर्न दबाब दिन कठिन हुने साइटमा खटिएका कर्मचारीहरु बताउँछन् । खासगरी यो सडक ५ जिल्ला रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, बाग्लुङ जिल्लालाई प्रत्यक्ष सहयोग पु¥याउने गौरवको सडक योजना भएपनि सरकारमा रहने उच्च तहका नेताहरुले ध्यान नदिएको कारण सडकमा बजेट अभाव भएको यहाँका जनताहरुको बुझाइ छ ।
यी ५ जिल्लामा पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने उद्देश्यले सडकको निर्माण थालेपनि सरकारको बेवास्ता नेताहरुको दुरदृष्टि नपुग्दा सडकलाई आवश्यकपर्ने उचित बजेट पर्न नसकेको भन्दै स्थानीयवासी निराश बनेका छन् ।
यस्तै, प्यूठानको पूर्वी क्षेत्र र रुकुम पश्चिमका स्थानीयवासी पनि यस सडकबाट प्रत्यक्ष लाभान्वित हुने छन् ।
बुद्ध जन्मस्थल लुम्बिनीदेखि बागलुङको ढोरपाटनलाई जोड्ने सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माण भएपछि लुम्बिनी भ्रमणमा आउने पर्यटकहरू ढोरपाटनसम्म सहजै पुग्न सक्ने र अर्घाखाँचीको व्यापार व्यवसाय समेत चलायमान हुने अपेक्षा गरिएको छ ।
सडक योजनाको काम हेर्न कार्यालय प्रमुख भण्डारी दैनिक फिल्डमा पुगेर कामको अनुगमनमा खटिएका छन् भने सडकमा बजेट अभावको गुनासो बोकेर मन्त्रालयमा पुग्दा पनि कुनै सुनुवाइ नहुने गरेको कार्यालयका कर्मचारीहरु गुनासो गर्छन् ।