काठमाडौं : नेपाल सुनचाँदी व्यवसायी तथा कालीगढ संघर्ष समितिले सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर खारेजीको माग गर्दै प्रदर्शन गरेका छन् । सोमबार काठमाडौंस्थित न्युरोडमा सुन व्यवसायीहरुले विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरुले सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर र हिरा पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट खारेज गर्न माग गरेका छन् । उनीहरुले सुनचाँदीको कारोबारका लागि व्यवसायीमैत्री एवं उपभोक्तामुखी स्पष्ट नीति र नियमावली एवं निर्देशिका निर्माण गर्न माग गरेका छन् ।
प्रदर्शनकारीहरुले 'हाम्रा कुरा सुन्दे', 'चाहिए जति सुन दे', 'उपभोक्तामारा नियम चाहिँदैन', 'सरकार सुन दे', 'सुनचाँदीको कानुन दे', 'उच्च कर हटाउ, व्यापार बचाउ'लगायतका प्लेकार्ड र नारासहित विरोध जनाएका हुन् ।