काठमाडौं : नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले आगामी बजेटले दीर्घकालीन सुधारलाई सम्बोधन गर्ने स्पष्ट संकेत गरेको बताएका छन् । सोमवार प्रतिनिधिसभा बैठकमा “आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा भाग लिँदै सांसद कार्कीले बजेटले निर्धारण गरेका प्राथमिकता र लक्ष्य उपयुक्त रहेको बताएका हुन् ।
उनले उच्च, दिगो एवं फराकिलो आर्थिक वृद्धिदर हासिल गरी गरिबी निवारण, उद्यमशीलता, विकास र सार्वजनिक तथा निजी लगानी विस्तारलाई बजेटले उद्देश्यमा राखेको बताए ।
लक्ष्य र आकांक्षाहरु प्राप्त गर्न त्यति सहज नभएपनि नेपालको राजनीतिमा गहिरो प्रभाव पार्ने दुई ठूला दलले निर्माण गरेको सरकारले ल्याएको बजेट यथार्थमा उभिएका हुनाले जनताका आकांक्षाहरु परिपूर्ति गर्नका निमित्त समयबद्ध र चरणबद्ध हिसाबले अगाडि बढेको सांसद कार्कीको दाबी छ ।
उनले बजेटलाई परिणामुखी बनाउन विनियोजन क्षमता, कार्यान्वयन क्षमता र जवाफदेहीता र नीतिगत हस्तक्षेपका निमित्त अर्थमन्त्रीको ध्यानाकर्षण गराए ।