रौतहट : रौतहटको बहुचर्चित राजपुर बमकाण्डमा छोरा गुमाएका श्रीनारायण सिंह राजपूत न्यायको खोजीमा काठमाडौंमा छन् । ८४ वर्षीय राजपूतले उच्च अदालत जनकपुरको अस्थायी इजलासबाट अभियुक्तहरूलाई सफाइ दिइएको फैसलाप्रति असन्तुष्टि जनाउँदै न्याय परिषद् समक्ष छानबिनको मागसहित उजुरी दर्ता गराएका छन् ।
जिल्ला अदालत रौतहटले २०८१ वैशाख ३ गते मुख्य अभियुक्त मोहम्मद अफताब आलमलाई जन्मकैदको फैसला सुनाए पनि त्यस निर्णयविरुद्ध परेको पुनरावेदनमा उच्च अदालतका न्यायाधीशद्वय खुशीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले आलमसहित अन्यलाई सफाइ दिएको थियो ।
राजपूतको उजुरीमा लगभग १२ सय पृष्ठको मिसिल र गम्भीर प्रकृतिको मुद्दा हुँदाहुँदै पनि केवल ४ घण्टामै सुनुवाइ टुंग्याउँदै ‘घटना नै घटेन’ भन्ने निष्कर्षमा पुगिनु न्यायिक अनियमिता र बदनियतको संकेत रहेका उल्लेख गरिएको छ ।
उनले प्रत्यक्षदर्शीको बयान, भौतिक प्रमाण र सर्वोच्च अदालतका अघिल्ला आदेशहरूलाई बेवास्ता गरिएको गुनासो गरेका छन् । उनले जिन्दगी रहुन्जेल न्यायका लागि संघर्षमा रहने बताएका छन् ।
श्रीराजपूतले काठमाडौंस्थित महान्यायाधिवक्ताको कार्यालय लगायतका सरोकारवाला निकायहरूमा पुगेर आफूले भोगेको अन्यायबारे जानकारी गराइसकेका छन्। न्याय परिषद्को सचिवसमक्ष आफूले राखेको निवेदनलाई ‘हेरौंला’ भनी लिइएको उनले बताए ।