काठमाडौं : गृह एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रमममा आगजानी भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको अनुगमन गरेका छन् ।
मंगलबार उक्त कार्यालयको अनुगमन गर्दै गृहमन्त्री अर्यालले देशलाई नष्ट गर्ने काम कसैले गर्न नहुने बताए । सार्वजानिक तथा व्यक्तिगत सम्पत्ति क्षति गर्नु अपराध भएको उनको भनाइ छ ।
उनले हाल भएको क्षतिलाई व्यहोर्दै अगाडि बढ्ने समेत उल्लेख गरे । उनले तत्काललाई भौतिक पुनःनिर्माण भन्दा पनि आचरण र पद्धतिको पुनःनिर्माण गर्ने बताए । उनले जतिसुकै कठिन भएपनि व्यहोर्नुपर्ने उल्लेख गर्दै त्यहीँबाट उठ्ने बताए ।
उनले क्षतिग्रस्त भएको कार्यालयको मूल्यांकनका लागि कार्यदल बनाउने जानकारी दिए । सोही कार्यदलको प्रतिवेदनको आधारमा बजेट छुट्याएर पुनःनिर्माण गरिने उनको भनाइ छ ।
उनले केही भवनलाई मर्मत मात्रै गरे पुग्ने देखिएको र केहीको भत्काएर पुनःनिर्माण गर्नुपर्ने देखिएको बताए । उनले क्षतिग्रस्त सबै संरचनाहरूको राष्ट्रिय योजना आयोग, विपद् व्यवस्थापन प्राधिकरण र अर्थ मन्त्रालयसँग छलफल गरेर पुनःनिर्माण गर्ने जानकारी दिए ।