२०८२ भदौ ३१ गते मङ्गलवार / Sep 16 , 2025 , Tuesday
२०८२ भदौ ३१ गते मङ्गलवार
Ads

सल्यानमा पहिलोपटक निःशुल्क घर बीमाबाट राहत

shivam cement
प्रदीप मगर
२०८२ भदौ ३१ गते २०:२०
सल्यानमा पहिलोपटक निःशुल्क घर बीमाबाट राहत

सल्यान : कर्णाली प्रदेश सरकारले सुरु गरेको निःशुल्क घर बीमा कार्यक्रम अन्तर्गत शारदा नगरपालिकाका नगरवासीले सेवासुविधा पाउन थालेका छन् । यस वर्षदेखि प्रारम्भ गरिएको कार्यक्रमको काम समयमै सम्पन्न भएपछि नगरवासीले सुविधा लिन सुरु गरेका हुन् । नगरप्रमुख प्रकाश भण्डारीका अनुसार वडा नं.१० मा असार महिनामा वर्षात्ले क्षति पुर्‍याएर घरबारविहीन भएकी घरधनी संगीता कुँबरलाई बीमा बापतको रकम ९६ हजार ४ सय २२ रुपैयाँ भुक्तानी गरिएको छ । 

‘संगीता जस्तै अविरल वर्षा र बाढी–पहिरोका कारण प्रत्येक वर्ष नागरिक घरबारविहीन हुनुपरेको छ । त्यसैले नागरिकको बासस्थानको सुरक्षाका लागि यो घर बिमा योजना ल्याएका हौं’ उनले भने । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले स्थानीयको सुरक्षाका लागि पहिलो जिम्मेवारीमा स्थानीय सरकार भएकाले यहाँका नागरिकको सुरक्षाका लागि घर बीमा कार्यक्रमलाई पहिलो प्राथमिकता दिइएको बताए ।

‘आगलागी, बाढी, पहिरो, भूकम्पजस्ता कारणले घरमा क्षति भएमा नेको इन्स्योरेन्सले क्षतिपूर्ति भुक्तानी गर्ने व्यवस्था गरिएको छ । व्यावसायिक प्रयोजन बाहेकका अन्य आवासीय घरलाई बीमा गरिएको छ । यो वर्षको नीति तथा कार्यक्रम र बजेटमा निःशुल्क घर बिमालाई समेटेर काम अघि बढाएका छौं’ उनले भने । यस कार्यक्रमका लागि सल्यान जिल्लाका १० स्थानीय तहमध्ये शारदा नगरपालिका मात्र छनोट भएको छ । नेको इन्स्योरेन्स सल्यानका प्रमुख नारायण दाहालका अनुसार सम्पूर्ण वडाका प्राविधिकहरूको सहजीकरणमा वडा नं. १ देखि १५ सम्म घर सर्वेक्षण गरी ४ हजार ७ सय ४७ घरधुरीको बिमा गरिएको हो ।

कर्णाली प्रदेश विपद् जोखिमको उच्च क्षेत्र भएकाले नागरिकको निजी आवासीय घरलाई प्राकृतिक विपद् तथा अन्य अप्रत्याशित घटनाबाट हुने क्षति र नोक्सानीको आर्थिक सुरक्षा गर्ने उद्देश्यसहित यो कार्यक्रम ल्याइएको हो । घर बीमा कार्यविधि अनुसार भूकम्प, आगलागी, बाढी, डुबान, हावाहुरी, जमिन भासिने, चट्याङ, विस्फोटन र हुलदङ्गा गरी ९ प्रकारका विपद्बाट क्षति पुगेमा बीमाबाट क्षतिपूर्ति दिने व्यवस्था गरिएको छ ।

ADV

सम्बन्धित खबर

Advertise