काठमाडौं : यस वर्षको दशैं, तिहार लगायतका चाडपर्वका लागि अग्रिम टिकट बुकिङ नखुल्ने भएको छ ।
मंगलबार काठमाडौंको मिनभवनस्थित यातायात व्यवस्था विभागको कार्यालयमा बसेको सम्बद्ध सबै पक्षको बैठकले यात्रुहरु जाने क्रम सुरु भइसकेकाले दशैंका लागि भनेर अग्रिम टिकट खुला गर्न आवश्यक नभएको निष्कर्ष निकालेको हो ।
जेनजीको आन्दोलन पछि विश्वविद्यालय, कलेजहरु बिदा हुने र उनीहरुको घर जाने क्रम सुरु भइसकेकाले यस वर्ष दशैंलाई लक्षित गरेर अग्रिम टिकट बुकिङको व्यवस्था नगर्ने निर्णयमा पुगिएको यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए ।
उनले दशैंका लागि घर जानेहरुले ३-४ दिन अगाडि नै बसको टिकट लिने व्यवस्था मिलाइएको पनि जानकारी दिए ।
यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले चाडपर्वमा यात्रुहरुको सहज ढंगले गन्तव्यमा पुर्याउने गरी सम्बद्ध सबै पक्षसँग छलफल गरिएको बताए । उनले यात्रुहरुको सहज रुपमा गन्तव्यमा पुर्याउने कुरामा कुनै कमी हुन नदिने पनि बताए ।
बैठकमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक बसन्त रजौरेले पनि दशैंमा यात्रुहरुलाई गन्तव्यमा पुर्याउनका लागि प्रहरीले आवश्यक सुरक्षाको व्यवस्था मिलाइसकेको बताए । उनले दशैंमा बस यात्रुहरुलाई ठग्नेमाथि कारबाही हुने चेतावनी समेत दिए ।
प्रहरी वरिष्ठ उपरीक्षक रजौरेले नेपाल प्रहरीले यात्रुहरुको सुरक्षाका लागि सहायता कक्षमा पनि प्रहरी परिचालन गर्ने बताए ।