काठमाडौं : शुभप्रभात नेपालको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । संस्थाको १६औं वार्षिकोत्सवको अवसर पारेर शनिबार काठमाडौं महानगरपालिका वडा नम्बर ४ सुकेधारामा आयोजना गरिएको रक्तदान कार्यक्रममा ७७ जनाले रक्तदान गरेको आयोजकले जानकारी दिएको छ ।
काठमाडौं उपत्यकाको उत्तरपूर्वी भेगमा विगत १६ वर्षदेखि सामाजिक कार्यमा समर्पित उक्त संस्थाले राजधानीका अस्पतालहरुमा देखिएको रगतको अभाव परिपूर्ति गर्न नेपाल रेडक्रस सोसाइटीसँग मिलेर रक्तदान कार्यक्रम आयोजना गरिएको रक्तदान कार्यक्रमका संयोजक राममणि भट्टराईले मध्यान्ह दैनिकलाई जानकारी दिए ।
संस्थाका अध्यक्ष गणेश कुमार मिश्रले भूकम्पलगायत अन्य प्राकृतिक तथा दैवीप्रकोपका अवस्थामा पीडितहरूलाई राहत पुर्याउने काममा शुभप्रभात नेपालले अग्रणी भूमिका निभाएको र आगामी दिनमा पनि समाजसेवा कार्यलाई पहिलेजस्तै गरी निरन्तरता दिइने जानकारी दिए ।
रक्तदान कार्यक्रमलाई सफल बनाउन अमेरिकाको टेक्सास राज्यको युलिस निवासी मनोज कटुवाल र गंगाबहादुर थापाले ४० हजार नगद पठाएर सहयोग गरेका थिए भने बुढानिलकण्ठ नगरपालिकाले २५ हजार रुपैयाँ सहयोग गरेको कार्यक्रममा सार्वजनिक गरिएको थियो ।
त्यसैगरी सुनिल चन्द्र न्यौपाने, प्रणव जोशी, सुनिल श्रेष्ठ, हाल कतारमा रहेका रमेश आचार्य, माधव दवाडी, सुनिल चन्द्र न्यौपाने, प्रेम दाहाल, कुमार गिरी, हरिश सिल्पकार, कविन्द्र श्रेष्ठ, उद्धव प्रसाद दाहाल, रविनाथ घिमिरे, तेजप्रसाद चौलागाईं, दिल विक्रम श्रेष्ठ, लक्की प्लाई प्रा.लि., काफ्ले स्टोर, करियर इन्टरनेशनल सर्भिसेस प्रा.लि., गोल्डेन लाइफ बचत तथा ऋण सहकारी, अशोक हायुलगायतले आर्थिक तथा भौतिक सहायता प्रदान गरेको संस्थाका पूर्वअध्यक्ष एवम् वैदेशिक रोजगार व्यवसायी साजन कटुवालले जानकारी दिए ।
रक्तदान कार्यक्रम सफल बनाउन संस्थाका महिला सदस्यहरूले सक्रिय एवम् उल्लेखनीय भूमिका निर्वाह गरेका थिए । रक्तदाताहरुलाई आयोजकका तर्फबाट प्रमाणपत्र तथा प्रशंसा पत्र वितरण गरिएको थियो ।