२०८३ कार्तिक २४ गते मङ्गलवार / Nov 10 , 2026 , Tuesday
२०८३ कार्तिक २४ गते मङ्गलवार

बरहवा तालमा १०८ कन्याद्वारा भव्य कलश यात्रा, बिहीबार मन्दिरको प्राणप्रतिष्ठा

Nada
सत्येन्द्र प्रताप सिंह
२०८३ कार्तिक २४ गते १७:२९
Shares
बरहवा तालमा १०८ कन्याद्वारा भव्य कलश यात्रा, बिहीबार मन्दिरको प्राणप्रतिष्ठा

रौतहट : रौतहटको सदरमुकाम गौर नगरपालिका–५ स्थित ऐतिहासिक बरहवा तालमा नवनिर्मित श्री सूर्य तथा बराह मन्दिरको प्राणप्रतिष्ठा समारोहको तयारीस्वरूप मंगलबार भव्य कलश यात्रा निकालिएको छ।

१०८ जना कन्याकुमारीको सहभागितामा आयोजित कलश यात्रा बरहवा ताल परिसरबाट सुरु भई टिकुलियास्थित लालबकैया नदीसम्म पुगेको थियो। नदीमा वैदिक विधिअनुसार जल भरण तथा पूजाअर्चना गरी यात्रा पुनः मन्दिर परिसरमा फर्किएर सम्पन्न भएको थियो।

कलश यात्रामा हात्ती, घोडा, परम्परागत पञ्चेबाजा, विभिन्न झाँकीसहित हजारौँ श्रद्धालु भक्तजन सहभागी भएका थिए। मन्त्रोच्चारण र भक्तिमय संगीतले गौर क्षेत्र धार्मिक उत्सवमय बनेको थियो। नवनिर्मित श्री सूर्य तथा बराह मन्दिरको निर्माणमा लाग्ने सम्पूर्ण खर्च नेकपा एमालेका रौतहट जिल्ला इन्चार्ज अजयकुमार गुप्ताले व्यक्तिगत रूपमा व्यहोरेका छन्।

मन्दिर निर्माण आफ्नो पारिवारिक धार्मिक संकल्पसँग जोडिएको उनले बताए। बरहवा ताललाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने सपना आफ्ना हजुरबुवाले देखेको स्मरण गर्दै गुप्ताले उनको अधुरो संकल्प पूरा गर्न पाउनु आफ्नो लागि गौरवको विषय भएको बताए।

उनले आगामी दिनमा पनि बरहवा ताल क्षेत्रको सौन्दर्यीकरण, पर्यटकीय पूर्वाधार निर्माण र सांस्कृतिक संरक्षणमा योगदान गर्ने प्रतिबद्धता जनाए। कात्तिक २६ गते बिहीबार हुने मुख्य प्राणप्रतिष्ठा समारोहमा गुप्ता मुख्य यजमानका रूपमा सहभागी हुने कार्यक्रम छ।

नवनिर्मित मन्दिरले गौर नगरपालिकाको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय पहिचानलाई थप स्थापित गर्ने विश्वास गरिएको छ। गुप्ताले प्राणप्रतिष्ठा समारोहमा सहभागी हुन नगरवासी, जिल्लावासी तथा आसपासका क्षेत्रका श्रद्धालु भक्तजनलाई परिवारसहित उपस्थितिका लागि आह्वान गरेका छन्।

laxmi recruitement

सम्बन्धित खबर