बारा : विश्वप्रसिद्ध पञ्चवर्षीय गढीमाईको मेलामा दिनप्रतिदिन श्रद्धालुभक्तजनहरूको घुइँचो बढ्दै गएको छ ।
प्रत्येक पाँच बर्षमा एक पटक लाग्ने गढीमाईको मेला यसपाली महागढीमाई नगरपालिकाको नगरप्रमुख एवं मूल मेला व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्रप्रसाद यादवको अथक प्रयास मेहेनत तथा समितिका सदस्यहरूको साथ सहयोगका कारण मेलामा दैनिक लाखौं श्रद्धालुभक्तजनहरू गढीमाईको मन्दीरमा उपस्थित भई दर्शन गरिरहेका हुन् ।
नेपालमा मात्रै नभई छिमेकी मुलुक भारतसहित विश्वमा प्रसिद्धि प्राप्त गरेको वारा जिल्लाको महागढीमाई नगरपालिका वडा नम्वर १ वरियापुर गाउँमा अवस्थित हिन्दुहरूको शक्तिपिठको रुपमा स्थापित माता काली जगजननीको प्रत्येक पाँच बर्षमा हर्षोल्लासका साथ पुजा एवं मेला लाग्ने गर्दछ।
यहाँ आउने श्रद्धालु भक्तजनहरू मातासंग पवित्र हृदयले भाँकल माग्ने गरेको उक्त भाकल पुरा भएपछि यहाँ आएर फुल प्रसाद, बलिमा राँगा, बोका वा अन्य केही चढाएर मातासँग गरिएको वाचा पुरा गर्ने परमपरा रहेको मेला मुल व्यवस्थापन समितिका अध्यक्ष यादवले बताए ।
शुक्रवार विहानै देखि साँझ सम्म दशौं लाख मानिसहरू मन्दीरमा अवलोकन गरेको बुझिएको छ । श्रद्धालु भक्तजनहरूलाई असुविधा नहोस भन्दै पंक्तिबद्ध भई माताको दर्शन गर्न ब्यारेकेटिंग गरेर व्यवस्थित बनाइएको छ तथा विशेष पुजा गर्नका लागि पाँच सयको नगदी रसिद लिएर पनि जाने व्यवस्थान मिलाइएको मेला समितिले जनाएको छ ।
भक्तजनहरूलाई आकर्षण गर्न मौतको कुवा, सर्कस, थिएटर, रोटे पिंग, डुंगा पिंग, ट्रेन, रोलर कोष्टर का साथै विभिन्न आकर्षण एवं मनोरञ्जनले भरिपूर्ण रहेको गढीमाई मेलामा होटल, कष्मेटिक, फुल प्रसाद सहितका विभिन्न सामानहरूको पसललाई समेत व्यवस्थित बनाइएको छ ।