काठमाडौं : नेपाल पत्रकार महासंघको केन्द्रीय निर्वाचनका लागि मनोनयन दर्ता सम्पन्न भएको छ । ५२ सदस्य केन्द्रीय समितिका लागि मनोनयन भएको हो । सभापति पदमा निर्मला शर्मा, रमेश विष्ट, कमल गिरी, देवीप्रसाद सापकोटा र लाल सिं(एल.एस) लामा गरी पाँच जनाको उम्मेदवारी परेको हो ।
नेपाल पत्रकार महासंघको महाधिवेशनमा नेपाल प्रेस युनियन र प्रेस चौतारीले गठबन्धन गरी उम्मेदवारी दिएका छन् भने प्रेस सेन्टर, समाजवादी प्रेस संगठन, क्रान्तिकारी प्रेस संगठन, जनपत्रकार संगठन, प्रगतिशील पत्रकार संगठन र प्रेस मञ्च नेपाल संयुक्त प्यानल बनाएर महासंघको महाधिवेशनमा उम्मेदवारी दिएका छन् । मंसिर २८ गतेका लागि तोकिएको निर्वाचनका लागि महासंघको केन्द्रीय कार्यालयमा मनोनयन दर्ता गरिएको हो ।
यसअघि पत्रकार महासंघको चुनाव २०७७ चैतमा भएको थियो । त्यसबेला प्रेस चौतारीकी निर्मला शर्मालाई हराउँदै प्रेस युनियनका विपुल पोख्रेल अध्यक्ष निर्वाचित भएका थिए । निर्वाचित अध्यक्ष पोख्रेलले सदस्यता विवादका कारण राजीनामा दिएका थिए । त्यसपछि महासंघका बरिष्ठ उपाध्यक्ष रमेश विष्टले समेत राजीनामा दिएपछि कार्यवहाक अध्यक्ष बाला अधिकारीको नेतृत्वमा निर्वाचन हुन लागेको हो ।