रामेछाप : रामेछापमा गाडी दुर्घटना हुँदा वडाध्यक्षसहित पाँच जनाको मृत्यु भएको छ ।
रामेछापको गोकुलगंगा गाउँपालिका–६ सिमलडाँडामा शुक्रबार दिउँसो ना १ ज ७१२३ नम्बरको गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका निमित्त प्रवक्ता इन्स्पेक्टर विक्रम खड्काले जानकारी दिए ।
उनकाअनुसार दुर्घटनामा मृत्युहरूमा गोकुलगङ्गा–४ बेतालीका वडाध्यक्ष ४५ वर्षीय रामचन्द्र बस्नेत छन् ।
जिप चालक मन्थली नगरपालिका–१० का ३५ वर्षीय चालक हिराबहादुर कार्की, गोकुलगङ्गा–५ की ३० वर्षीया कविता कार्की र उनकी सात वर्षीया छोरी स्वस्तिका खड्काको समेत मृत्यु भएको छ । मृतक अन्य एक जनाको सनाखत भएको छैन । वडाध्यक्ष बस्नेत नेपाली कांग्रेसबाट निर्वाचित थिए ।
दुर्घटनामा तीन जना घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य छ । घाइतेहरूलाई जिल्ला अस्पताल मन्थली पठाइएको छ ।
गाडी आफै अनियन्त्रित भएर सडकबाट तीन सय मिटर तल खसेको थियो ।