२०८१ मंसिर २७ गते बिहिवार / Dec 12 , 2024 , Thursday
२०८१ मंसिर २७ गते बिहिवार

कथा : खुसीको खोजी

ADV
२०८१ कार्तिक २४ गते ०६:२५
कथा : खुसीको खोजी

–सत्यजीत

एउटा रमणीय जङ्गल कागको वासस्थान थियो, धेरै कागहरूमध्ये एउटा काग अरूभन्दा धेरै बाठो र जिज्ञासु थियो, साथै ऊ धेरै खुसी पनि थियो किनभने उसका धेरै इच्छाहरू थिएनन् । ऊ आफ्नो जीवनमा सन्तुष्ट थियो, तर उडानको क्रममा एक पटक उसले जङ्गलमा एउटा हाँस देख्यो र देख्ने बित्तिकै सोच्न थाल्यो, यो प्राणी कति सुन्दर छ, यस्तो प्राणी मैले पहिले कहिल्यै देखेको थिइनँ । त्यसैले यस्तो सफा र सेतो हाँस पक्कै पनि सबैभन्दा खुसी प्राणी हुनुपर्छ । यो जङ्गलका अरू पन्क्षीभन्दा ऊ धेरै सेतो र सुन्दर छ, त्यसैले यो धेरै खुसी हुनुपर्छ ।

कागले हाँस कहाँ गएर सोध्यो, “भाइ, तिमी यति सुन्दर छौ, त्यसैले त तिमी धेरै खुसी हुनुपर्छ ?” त्यसमा हाँसले जवाफ दियो, “हो म पहिले सुगा नदेखेसम्म धेरै खुसी थिएँ, जब मैले सुगा देखेँ त्यसपछि लाग्छ, सुगा पृथ्वीको सबैभन्दा सुन्दर प्राणी हो । हामी दुवैको शरीरमा एउटै रङ छ, तर सुगाको शरीरमा दुई वटा रङ छ ।” उसको घाँटीमा रातो रङ थियो र शरीर चम्किलो हरियो रङ्गको थियो, साँच्चै यो धेरै सुन्दर प्राणीमा पर्छ । 

अब कागले सोच्यो कि हाँसले सुगालाई सबैभन्दा सुन्दर भन्छ, सुगा हेर्नै पर्ने भो । कागले सुगाको धेरै खोजी गर्‍यो । जब सुगासँग भेट भयो उसले सोध्यो, “भाइ दुई रङ पाएर तिमी धेरै खुसी हुन्छौ होइन र ? त्यसको जवाफमा सुगाले भन्यो, हो म मयूर नदेखेसम्म खुसी थिएँ । मसँग दुई वटा रङ मात्र छन् तर, मयूरको शरीरमा धेरै रङ छन् । ऊ रङ्गीचङ्गी र हामीभन्दा धेरै सुन्दर छ ।”

अब कागले सोच्यो कि सबैभन्दा खुसी को छ भनी अनुसन्धानको क्रममा मयुरको खोजीमा लाग्यो । उसले जङ्गलभर मयूर खोज्यो तर, पूरै जङ्गलमा एउटै पनि मयूर फेला पर्न सकेन । उसले मयूर खोज्दै जाँदा चिडियाखानामा पुगेर मयूरलाई हेर्न धेरै मानिसहरू आएको देख्यो र वरिपरि मानिसको ठुलो भीड थियो । सबै जना गएपछि कागले मयूरलाई सोध्यो, “भाइ तिमी संसारकै सबैभन्दा सुन्दर प्राणी हौ र तिमी बहुरङ्गी छौ । तिमीसँग धेरै मानिसहरूले तस्बिर खिचिरहेका थिए । तिमी धेरै राम्रो महसुस गरिरहनु भएको हुनुपर्छ र तिमी संसारको सबैभन्दा खुसी प्राणी हुनुहुनेछ ?”

त्यसको जवाफमा मयूरले दुःखी हुँदै भन्यो, “भाइ म सुन्दर भए पनि के फरक पर्छ ? मानिसहरूले मलाई यो चिडियाखानामा कैद गर्छन्, तर तपाईँलाई कसैले चिडियाखानामा कैद गर्दैन र तपाईँ आफ्नो इच्छाअनुसार संसारभर जहाँ चाहनु हुन्छ, त्यहाँ घुम्न सक्नु हुन्छ । तसर्थ, तपाईँ संसारको सबैभन्दा सन्तुष्ट र सुखी प्राणी हुनुपर्दछ, किनभने तपाईँ स्वतन्त्र जीवन बिताउन सक्नु हुन्छ ।”

काग छक्क पर्‍यो, किनभने उसलाई अरू कसैले आफ्नो जीवनको महत्व बताइदियो ।

मित्रहरू, हामी पनि त्यस्तै गर्छौँ । हामी आफ्नो खुसी र गुणहरू अरूसँग तुलना गर्छौँ, जसको जीवन वातावरण हामीभन्दा पूर्णरूपमा भिन्न छ । हाम्रो जीवनमा धेरै चीजहरू छन्, जुन हामीसँग मात्र छ, तर हामी तिनीहरूको महत्त्व बुझ्दैनौँ । तर अरूको सानो खुसी पनि हामीलाई ठुलो लाग्छ, आफ्नो ठुलो खुसीलाई हामी बेवास्ता गर्छौ र अनावश्यक प्रतिस्पर्धाले हाम्रो मानवीय मूल्यमान्यतामा ह्रास आइरहेको छ । हामीले हाम्रो मानवीय मूल्यमान्यता, आफ्ना विशिष्ट क्षमता, शैली, नैतिकता, इमानदारिता, देश, समाज र जनताप्रतिको दायित्वलाई बुझौँ । देखासिखी होइन आफ्नोपनको महत्त्व बुझौँ र खुसी बनौँ ।

ADVADV

सम्बन्धित खबर

Advertise