
काठमाडौं : सरकारले राष्ट्रिय सभा सदस्यको निर्वाचन गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय सभा सदस्यको रिक्त पदपूर्तिका लागि माघ ११ गते आइतबारका दिन निर्वाचनको मिति तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदिश खरेलले जानकारी दिए ।
२०७६ सालको चुनावबाट निर्वाचित १९ सदस्यको कार्यकाल आगामी फागुनबाट सकिँदैछ ।
१९ जनामध्ये एक जना वामदेव गौतम राष्ट्रपतिबाट मनोनीत सांसद हुन् । बाँकी १८ पदका लागि निर्वाचन हुनेछ ।
सरकारले संसद्का पदाधिकारी र सदस्यको स्वकीय सचिवालयमा दरबन्दी घटाउने निर्णय पनि गरेको छ ।
प्रवक्ता खेरेलका अनुसार संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ हो अनुसूची २ मा हेरफेर गर्ने निर्णय भएको हो ।
बैठकले नेपाल र मौरिससबीच भएको दोहोरो कर मुक्ति सम्झौता अन्त्य गर्ने निर्णय पनि गरेको छ । त्यस्तै, छापाखाना र प्रकाशनसम्बन्धी दोस्रो संशोधन नियमावली २०८२ स्वीकृत गरेको छ ।
बैठकले कतारको दोहामा आयोजना हुने ‘सेकेन्ड वल्र्ड समिट फर सोसल डेभलपमेन्ट’ कार्यक्रममा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा २०८२ कात्तिक १७ देखि २० गतेसम्म हुने औपचारिक भ्रमण स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता खरेलले जानकारी दिए ।