
काठमाडौं : श्रम तथा रोजगार कार्यालय विराटनगरले इटहरीमा रहेका विभिन्न म्यानपावर कम्पनीका शाखाहरूको अनुगमन गरेको छ । इटहरी उपमहानगर क्षेत्रमा इजाजतप्राप्त म्यानपावर कम्पनीका १६ वटा शाखा भए पनि ६० भन्दा बढी म्यानपावर कम्पनीका शाखा भन्दै साइनबोर्ड राखेर कार्यालय सञ्चालन गरिएको छ ।
कार्यालयका इन्जिनियर दुर्गा आचार्यले केही म्यानपावर कम्पनीका शाखाहरूले अख्तियारी नाघेर कारोबार गर्ने, तोकिएभन्दा बढी रकम लिने र लामो समयसम्म सेवाग्राहीको राहदानी कार्यालयमै राखेर हैरानी दिने जस्ता गुनासा आउने गरेकाले अनुगमन गरिएको बताएका छन् ।
केही कम्पनीमा शंकास्पद कागजात फेला परेपछि कार्यालयले ती कागजात नियन्त्रणमा लिएको छ । सम्बन्धित म्यानपावर कम्पनीका शाखा प्रमुखलाई तीन दिनभित्र कागजातसहित श्रम तथा रोजगार कार्यालयमा बयानका लागि उपस्थित हुन पत्राचार गरिएको पनि उनले बताएका छन् । प्राप्त कागजात र शाखा कार्यालय प्रमुखको बयानपछि थप प्रक्रिया अघि बढाइने कार्यालयले जनाएको छ ।
साइनबोर्डका आधारमा अवैध रूपमा सञ्चालन भइरहेका केही कार्यालयमा अनुगमन टोली नपुग्दै ताला लगाएर सञ्चालक भागेको बताइएको छ । अनुगमनको सूचना चुहिएका कारण धेरैजसो कार्यालय बन्द गरेर सञ्चालक भागेको हुन सक्ने आकलन गरिएको छ ।
इटहरीका धरान लाइन, गोरखा गल्ली, लन्डन होटल र टेंग्रा पुलपारि म्यानपावर कम्पनीका वैध र अवैध कार्यालयहरू रहेका छन् । निरीक्षणका क्रममा कतिपयले घरभाडासमेत नदिएर दुःख दिएको गुनासो घरधनीहरूबाट आएको छ । उनीहरूले अवैधानिक रूपमा शाखा सञ्चालन हुन नदिन स्थानीय प्रहरीले कडाइ गर्नुपर्ने मागसमेत गरेका छन् ।