२०८३ कार्तिक १० गते मङ्गलवार / Oct 27 , 2026 , Tuesday
२०८३ कार्तिक १० गते मङ्गलवार

सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणमा तीव्रता

पुर्कोट दहदेखि अर्खवाङसम्म कालोपत्रे सुरु

Nada
सूर्यप्रसाद भुसाल
२०८३ कार्तिक १० गते २१:२५
Shares
सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणमा तीव्रता

अर्घाखाँची : रुपन्देहीको सालझण्डीदेखि अर्घाखाँची हुँदै बागलुङको ढोरपाटनसम्म जोड्ने सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक आयोजनाको निर्माणले तीव्र्रता पाएको छ । ढोरपाटन सडकअन्तर्गतका विभिन्न खण्डमा निर्माण, ग्राभेल तथा कालोपत्रेको काम अघि बढेको छ । 

भौतिक पूर्वाधारमन्त्री सुनील लम्सालले दसैं बिदा सकिएलगत्तै गुल्मीको पुर्कोट दहदेखि अर्खवाङ खण्डमा पर्ने पुर्कोट दह बजार र म्यालपोखरी बजारलगायत क्षेत्रमा डबल बिटुमिनस सर्फेस ड्रेसिङ (डिबिएसडी) प्रविधिबाट सडक कालोपत्रे गर्ने काम सुरु गरिएको बताए । तिहारअघि पुर्कोट दहदेखि कल्लेभिर खण्डको करिब ७.३ किलोमिटर सडक कालोपत्रे गर्ने तयारी गरिएको उल्लेख छ । यसका लागि आवश्यक निर्माण सामग्रीको व्यवस्थापनसमेत गरिएको मन्त्री लम्सालले बताएका छन् । मन्त्रीको निर्देशनसँगै सडक आयोजनाअन्तर्गत अर्घाखाँचीका विभिन्न खण्डमा समेत निर्माणमा तीव्रता दिइएको छ । पटौटी–मौदान र माटे–भण्डार खण्डमा काम अघि बढेको छ । गुल्मी र बागलुङका विभिन्न खण्डसँगै अर्घाखाँचीमा पनि सडक निर्माणले गति लिन थालेपछि जिल्लाको सडक सञ्जाल थप व्यवस्थित हुनेछ । 

मैदानदेखि बलेवाङसम्मको सडक खण्डको ठेक्का प्रक्रिया सम्पन्न भइसकेको छ । त्यस्तै, बागलुङको देवीस्थानदेखि सालझण्डीतर्फको बतासेडाँडासम्म तथा मध्यपहाडी लोकमार्गदेखि ढोरपाटनतर्फको लक्ष्मीकुण्ड जाने सडक खण्डको ठेक्का प्रक्रिया पनि सम्पन्न भएको छ । 

बागलुङको बुर्तिवाङदेखि फल्लेघरसम्मको २२ किलोमिटर सडकमा ग्राभेल गर्ने काम सम्पन्न भएको छ भने फल्लेघर–रुद्रताल खण्डमा समेत निर्माण कार्य अघि बढाइएको छ ।

यस सडकखण्ड अर्घाखाँचीको पुष्पा बिल्डर्सले निर्माण कार्यको ठेक्का लिएर काम निरन्तर अगाडि बढाएको आयोजना प्रमुख गागलकुमार भण्डारीले बताए । आयोजनाको निर्धारित मापदण्ड, गुणस्तर र समयसीमाअनुसार काम सम्पन्न हुने भण्डारीले बताए । आयोजना प्रमुख भण्डारी आफैं फिल्डमै खटिएर काम गरिरहेका छन् । 

सडक निर्माणमा ठेक्का सम्झौताअनुसारको काम प्रगति, गुणस्तरीय निर्माण सामग्रीको प्रयोग, प्रभावकारी प्राविधिक निगरानी र नियमित अनुगमनसमेत भइरहेको छ । 

तोकिएको समयमै गुणस्तरीय सडक निर्माण सम्पन्न गर्नु आयोजनासँग भएको सम्झौताअनुसार काम सम्पन्न गर्नु आफूहरूको दायित्व भएको पुष्पा बिल्डर्सका सञ्चालक इन्जिनियर मनोज बन्जाडेले बताए । 

रुपन्देहीको सालझण्डीदेखि बागलुङको ढोरपाटनसम्म फैलिएको १९७.२ किलोमिटर लामो यो सडकले पाँच जिल्ला र १० वटा स्थानीय तहलाई जोड्ने सडक आयोजना हो । आयोजनाको समग्र भौतिक प्रगति ४९ प्रतिशत पुगेको छ । यो सडक पूर्ण रूपमा सञ्चालनमा आएपछि रुपन्देही, अर्घाखाँची, गुल्मी र बागलुङलगायत सडक सञ्जालले समेट्ने क्षेत्रका बासिन्दालाई आवागमनमा सहजता पुग्नेछ । साथै, कृषि उत्पादनको बजारीकरण, स्थानीय व्यापार, पर्यटन प्रवर्धन र ग्रामीण क्षेत्रको आर्थिक गतिविधि विस्तारमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर