
काठमाडौँ : प्रतिनिधिसभा पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले वीरगञ्ज सुक्खा बन्दरगाह र वीरगञ्ज एकीकृत जाँचचौकीका प्रवेशद्वार २४ घण्टा सञ्चालन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।
सभापति गजुरेल र बारा निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य अरविन्द साहले वीरगञ्ज भन्सार कार्यालयअन्तर्गतका दुवै बन्दरगाहको स्थलगत अनुगमन गर्दै सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउन यस्तो निर्देशन दिएका हुन् ।
पूर्वाधार विकास समितिका सभापति गजुरेलको निजी सचिवालयका अनुसार अनुगमनका क्रममा बन्दरगाहको भौतिक पूर्वाधार, व्यवस्थापकीय अवस्था र सञ्चालन प्रक्रियाबारे जानकारी लिइएको थियो ।
सार्वजनिक–निजी साझेदारी (पीपीपी) अवधारणाअन्तर्गत निजी क्षेत्रबाट सञ्चालन भइरहेका ती बन्दरगाह हाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनीमार्फत सञ्चालन हुँदै आएका छन् ।
इन्टरमोडल यातायात विकास समिति र पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी एकीकरण भएपछि दुवै बन्दरगाहको व्यवस्थापन उक्त कम्पनीले गर्दै आएको हो ।
अनुगमनका क्रममा गजुरेल र साहले एकीकरणपछिको सञ्चालन अवस्था, व्यवस्थापकीय प्रभावकारिता, सेवा प्रवाहमा देखिएका समस्या तथा सुधारका सम्भावनाबारे जानकारी लिएका थिए ।
उनीहरूले पारवहन तथा गोदाम व्यवस्थापन कम्पनीका सहायक प्रबन्धक कमल ज्ञवाली, सुक्खा बन्दरगाह सञ्चालक कम्पनी प्रिस्टिन भ्यालीका प्रमुख कार्यकारी अधिकृत राजीव मोहन झा तथा एकीकृत जाँचचौकी सञ्चालक कम्पनी टीआरएस लजिपार्कका व्यवस्थापक गणेशप्रसाद घिमिरेलगायतसँग छलफल गरेका थिए ।
वीरगञ्ज सुक्खा बन्दरगाहमा औसतमा मासिक ११० वटा मालवाहक रेल आउने गरेका छन् भने वीरगञ्ज एकीकृत जाँचचौकीबाट दैनिक औसत ८०० वटा मालवाहक सवारीसाधन आवतजावत गर्ने गरेका छन् ।
सभापति गजुरेलले रेलसम्बन्धी पूर्वाधारको प्रभावकारी उपयोग, रेल सञ्चालनलाई व्यवस्थित बनाउने र मालसामान ढुवानी प्रक्रियालाई सहज बनाउने विषयमा पनि आवश्यक निर्देशन दिएका छन् ।
नेपालमा रासायनिक मलको आपूर्तिमा रेलमार्गको महत्त्वपूर्ण भूमिका रहेकाले मल आयातसम्बन्धी भन्सार प्रक्रिया सहज, छरितो र व्यवस्थित बनाउन पनि उनले सुझाव दिएका थिए ।