२०८३ कार्तिक १० गते मङ्गलवार / Oct 27 , 2026 , Tuesday
२०८३ कार्तिक १० गते मङ्गलवार

साउदी अरबमा सुरक्षा सतर्कता अपनाउन नेपाली राजदूतावासको आग्रह

Nada
२०८३ कार्तिक १० गते ०७:४७
Shares
साउदी अरबमा सुरक्षा सतर्कता अपनाउन नेपाली राजदूतावासको आग्रह

रियाद, साउदी अरब : साउदी अरबको पूर्वी क्षेत्रमा ड्रोनको भग्नावशेष खस्दा एक नेपाली श्रमिकको मृत्यु भएपछि नेपाली राजदूतावास रियादले साउदी अरबमा कार्यरत तथा बसोबास गर्ने नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

साउदी अरबको पूर्वी प्रान्तस्थित शैबाह तेल क्षेत्रमा रहेको साउदी अराम्कोको परियोजनालाई लक्षित गरी आएको ड्रोनलाई हवाई प्रतिरक्षा प्रणालीले बीचमै निष्क्रिय बनाउने क्रममा खसेको भग्नावशेष लागेर एक नेपाली र एक फिलिपिनी श्रमिकको मृत्यु भएको साउदी ऊर्जा मन्त्रालयले जनाएको छ। घटनामा पाकिस्तानी र भारतीय नागरिक घाइते भएका छन्। मृत्यु भएका नेपालीको नाम, ठेगाना तथा अन्य व्यक्तिगत विवरण भने सार्वजनिक गरिएको छैन।

यसै सुरक्षा परिस्थितिलाई ध्यानमा राख्दै नेपाली राजदूतावास रियादले जारी गरेको सूचनामा नेपाली नागरिकलाई साउदी अधिकारीहरूबाट जारी हुने सुरक्षा निर्देशनको पूर्ण पालना गर्न, विशेष सुरक्षा चेतावनी जारी भएको अवस्थामा बाहिर ननिस्कन तथा आधिकारिक सूचनाहरू नियमित रूपमा अवलोकन गर्न आग्रह गरिएको छ। राजदूतावासले सुरक्षा संवेदनशील स्थान, ड्रोन तथा क्षेप्यास्त्र आक्रमण वा तिनलाई निष्क्रिय पारिएका घटनासँग सम्बन्धित फोटो तथा भिडियो खिच्ने, प्रकाशन गर्ने वा सामाजिक सञ्जालमा सेयर नगर्न पनि सचेत गराएको छ।

आधिकारिक स्रोतबाट पुष्टि नभएका समाचार, सूचना तथा दृश्य सामग्री सार्वजनिक वा प्रसारण नगर्नसमेत अनुरोध गरिएको छ। त्यसैगरी, साउदी अरबबाट नेपाल वा अन्य देशमा हवाई यात्रा गर्ने नेपाली नागरिकलाई प्रस्थान गर्नुअघि सम्बन्धित वायुसेवा कम्पनी वा आधिकारिक स्रोतबाट उडानको अवस्था र समयतालिका यकिन गर्न आग्रह गरिएको छ।

सुरक्षा अवस्थाका कारण उडान तालिकामा परिवर्तन हुन सक्ने भएकाले पुष्टि नगरी विमानस्थलतर्फ नजानु उपयुक्त हुने देखिन्छ। राजदूतावासले कुनै समस्या वा आपत्कालीन अवस्था आएमा रियादस्थित नेपाली राजदूतावास वा जेद्दास्थित नेपाली महावाणिज्यदूतावासमा सम्पर्क गर्न सकिने जनाएको छ।

साउदी अरबमा रहेका नेपालीलाई आधिकारिक सूचनामा विश्वास गर्न, अफवाह फैलाउनबाट जोगिन र आफ्नो सुरक्षालाई प्राथमिकता दिन आग्रह गरिएको छ। साउदी अरबमा ठूलो संख्यामा नेपाली श्रमिक कार्यरत रहेकाले बदलिँदो सुरक्षा परिस्थितिमा आधिकारिक निर्देशन पालना गर्नु, संवेदनशील घटनाका दृश्य सामाजिक सञ्जालमा सार्वजनिक नगर्नु र आपत्कालीन सम्पर्क नम्बरहरू सुरक्षित राख्नु आवश्यक देखिएको छ।

सम्बन्धित खबर