
अर्घाखाँची : नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पार्टीको नेतृत्वमा महामन्त्री गगनकुमार थापाको विकल्प नरहेको बताएकी छन् । उनले आगामी १५औं महाधिवेशनलाई एकताको महाधिवेशनका रूपमा सम्पन्न गर्दै पार्टीभित्रका गुट–उपगुट अन्त्य गरी बलियो र सक्षम कांग्रेस निर्माण गर्नुपर्नेमा जोड दिएकी छन् ।
रिपोर्टर्स क्लब नेपाल, लुम्बिनी प्रदेशले मंगलबार सन्धिखर्कमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै भुसालले कांग्रेसको नेतृत्वमा अहिले गगनको विकल्प नरहेको बताएकी हुन् ।
उनले भनिन्,‘कांग्रेसको नेतृत्वमा अहिले गगनको विकल्प छैन । १५औं महाधिवेशन एकताको महाधिवेशन बन्नुपर्छ । आन्तरिक गुटको अन्त्य गर्दै सबै पक्षलाई समेटेर बलियो र सक्षम कांग्रेस निर्माण गर्नुपर्छ ।’
पूर्वउपसभामुखसमेत रहेकी भुसालले लोकतन्त्रको संरक्षण र संस्थागत विकासमा कांग्रेसको महत्वपूर्ण भूमिका रहेको बताइन्। मुलुकको समृद्धि र दिगो विकासका लागि राजनीतिक स्थिरता आवश्यक रहेको उल्लेख गर्दै उनले राजनीतिक दल पनि आन्तरिक रूपमा सुदृढ र लोकतान्त्रिक हुनुपर्ने बताइन् ।
जेनजी आन्दोलनपछि बनेको नयाँ राजनीतिक समीकरणले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकार सञ्चालनको जिम्मेवारीमा पुर्याएको उल्लेख गर्दै भुसालले वर्तमान सरकार पाँच वर्ष टिक्नुपर्ने धारणा राखिन् । यद्यपि सरकारका गतिविधि हेर्दा जनताले रास्वपालाई विश्वास गरे पनि मुलुक सञ्चालन गर्ने नेतृत्वमा अपरिपक्वता देखिएको उनको टिप्पणी थियो ।
कांग्रेसलाई अहिले जनताले प्रतिपक्षमा बस्ने जनादेश दिएको भन्दै भुसालले तत्काल सरकारमा जाने पार्टीको कुनै योजना नरहेको बताइन्। बलियो प्रतिपक्षका रूपमा सरकारका सकारात्मक काममा समर्थन गर्ने र गलत कदमको खुलेर विरोध गर्ने उनको भनाइ थियो ।
कांग्रेसको मुख्य जिम्मेवारी अहिले आन्तरिक समस्या समाधान गर्दै संगठनलाई बलियो बनाउनु र पार्टीलाई पुनः जनतासँग जोड्नु रहेको उनले बताइन् । १५औं महाधिवेशनमा अग्रजलाई सम्मान गर्दै युवालाई जिम्मेवारी दिनुपर्ने उनको धारणा थियो ।
पूर्वसभापति शेरबहादुर देउवालाई ससम्मान अभिभावकको भूमिकामा स्वीकार गर्न आफूहरू तयार रहेको बताउँदै भुसालले अग्रजको अनुभव र युवाको नेतृत्वलाई सँगसँगै अघि बढाउनुपर्ने बताइन् ।