२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

गौरमा क्षयरोग रोकथामका लागि घरदैलो अभियान

Nada
सत्येन्द्र प्रताप सिंह
२०८३ असोज ६ गते २१:३५
Shares
गौरमा क्षयरोग रोकथामका लागि घरदैलो अभियान

रौतहट : रौतहटको सदरमुकाम गौर नगरपालिकामा क्षयरोगका सम्भावित बिरामीहरूको समयमै पहिचान गरी उपचार प्रक्रियामा ल्याउने उद्देश्यका साथ सक्रिय क्षयरोग खोजपर्ताल शिविर सञ्चालन गरिएको छ । नगरवासीलाई क्षयरोगको जोखिमबाट जोगाउन र समुदायस्तरमै पुगेर स्वास्थ्य सेवा पहुँच विस्तार गर्न नगरपालिकाले यो विशेष अभियान थालेको हो ।

ncell

अभियानअन्तर्गत असोज ५ गते गौर नगरपालिका वडा नम्बर ९ र असोज ६ गते वडा नम्बर ८ मा सफलताका साथ खोजपर्ताल शिविर सम्पन्न भइसकेको छ । सो क्रममा स्थानीय बासिन्दाहरूको स्वास्थ्य परीक्षण गर्नुका साथै सम्भावित क्षयरोगीहरूको कफ (खकार) संकलन तथा प्रारम्भिक जाँच गरिएको छ ।

कार्यक्रमलाई निरन्तरता दिँदै बुधबार असोज ७ गते वडा नम्बर ७ मा शिविर आयोजना गरिने र त्यसपछि तालिका अनुसार गौर नगरपालिकाका सबै वडामा क्रमशः कार्यक्रम सञ्चालन गरिने गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले जनाए ।

नगर प्रमुख साहका अनुसार क्षयरोग नियन्त्रणका लागि समयमै बिरामीको पहिचान हुनु नै सबैभन्दा प्रभावकारी उपाय हो। क्षयरोग लुकाएर राख्ने रोग होइन समयमै परीक्षण र नियमित औषधि सेवन गरेमा यो पूर्ण रूपमा निको हुन्छ नगर प्रमुख साहले भने सदरमुकामभित्रै कोही पनि नागरिक क्षयरोगको पहिचान र उपचारबाट वञ्चित नहोऊन् भन्ने उद्देश्यले नगरका सबै वडामा टोली परिचालन गरी शिविर सञ्चालन गरिएको हो । 

शिविरमा स्वास्थ्यकर्मीहरूको प्राविधिक टोलीले दीर्घकालीन खोकी लागेका, तौल घट्दै गएका, राति ज्वरो आउने तथा थकान महसुस हुने जस्ता लक्षण देखिएका व्यक्तिहरूको विशेष परीक्षण गरिरहेको छ । परीक्षणका क्रममा क्षयरोग पुष्टि भएका बिरामीहरूलाई सरकारले निःशुल्क उपलब्ध गराउने औषधि तथा आवश्यक स्वास्थ्य परामर्शको व्यवस्था मिलाइने गौर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख दिनबन्धु यादवले जनाए ।

नगरपालिकाले समयमै पहिचान गरौँ क्षयरोगमुक्त समाज निर्माण गरौँ भन्ने मुख्य नाराका साथ नगरवासीहरूलाई नजिकैको शिविरमा पुगेर निःशुल्क स्वास्थ्य परीक्षण गराउन अपिल गरेको छ । आफ्ना छरछिमेक वा परिवारमा क्षयरोगको सम्भावना भएका व्यक्तिहरूलाई अनिवार्य रूपमा शिविरसम्म ल्याएर अभियानलाई सफल बनाउन समेत स्थानीय जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीहरूले आग्रह गरेका छन् । 

सम्बन्धित खबर