
पर्सा : पर्साको धोबिनी गाउँपालिका–५ धोबिनी गाउँमा अज्ञात समूहले लुटपाट गरी एक महिलाको हत्या गरेको घटनापछि स्थानीयमा त्रास र आक्रोश बढेको छ । घटनासँगै सार्वजनिक सुरक्षाका लागि जडान गरिएको सीसीटीभी क्यामेराको प्रभावकारिता र व्यवस्थापनमाथि समेत प्रश्न उठेको छ ।
धोबिनी गाउँ निवासी श्रीनिवास साह तुराहाकी श्रीमती लखराव देवी घरभित्र मृत अवस्थामा फेला परेकी थिइन्। प्रारम्भिक जानकारीअनुसार घटनास्थलमा घरको ढोका तोडफोड भएको र गरगहना लगायतका सामान लुटपाट भएको देखिएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
घटनापछि स्थानीयले भने सार्वजनिक सुरक्षाका लागि जडान गरिएका सीसीटीभी क्यामेरा आवश्यक परेको समयमा सञ्चालनमा नरहेको भन्दै आक्रोश व्यक्त गरेका छन्। स्थानीयका अनुसार वडा क्षेत्रमा करिब ८ लाख रुपैयाँ खर्च गरेर सीसीटीभी क्यामेरा जडान गरिएको थियो ।
तर, घटना भएको समयमा घटनास्थल आसपासका सीसीटीभी क्यामेरा सञ्चालनमा नरहेको स्थानीयको दाबी छ । सीसीटीभी सञ्चालनमा रहेको भए घटनाको समयमा उक्त क्षेत्रमा आवतजावत गर्ने व्यक्ति तथा सवारीसाधनको दृश्य अनुसन्धानका लागि महत्वपूर्ण प्रमाण बन्न सक्ने स्थानीयको भनाइ छ ।
सार्वजनिक सुरक्षाका लागि लाखौँ रुपैयाँ खर्च गरेर जडान गरिएको सीसीटीभी आवश्यक परेको समयमा नै सञ्चालनमा नरहेको हो भने त्यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्न स्थानीयले उठाएका छन् ।
स्थानीयले सीसीटीभी खरिद, जडान, सञ्चालन, मर्मतसम्भार तथा निगरानीका लागि भएको खर्चको विवरण सार्वजनिक गर्न माग गरेका छन् । साथै गाउँपालिका अध्यक्ष, सम्बन्धित वडा जनप्रतिनिधि तथा गाउँपालिका प्रशासनले सीसीटीभी व्यवस्थापन र सञ्चालनको अवस्थाबारे स्पष्ट जवाफ दिनुपर्ने उनीहरूको माग छ ।
गाउँपालिकाले सार्वजनिक सुरक्षाका लागि गाउँ–गाउँमा सीसीटीभी जडान गर्न करोडौं रुपैयाँ खर्च गरेको स्थानीयको भनाइ छ । तर तीमध्ये धेरै क्यामेरा सञ्चालनमा नरहेको उनीहरूको दाबी छ ।
सुरक्षाका लागि बजेट खर्च गर्ने तर त्यसको प्रभावकारी सञ्चालन, नियमित मर्मतसम्भार र निगरानी नगर्ने हो भने सार्वजनिक स्रोतको उपयोगमाथि नै प्रश्न उठ्ने स्थानीयले बताएका छन् ।