
दोलखा : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि दोलखाका ९ वटै स्थानीय तहलाई सहयोग र सहकार्य गर्न आग्रह गरेका छन् । प्रदेशको एउटा स्थानीय तह विपद्मा पर्दा अर्को स्थानीय तहले त्यसलाई आफ्नो समस्या सम्झेर सहयोग गर्नुपर्ने भन्दै मुख्यमन्त्री थापामगरले स्थानीय सरकारहरूबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका हुन् ।
मंगलबार दोलखामा आयोजित बागमती प्रदेश सरकार तथा जिल्लास्थित स्थानीय तहबाट आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित योजना तथा कार्यक्रमहरूको वार्षिक प्रगति समीक्षा कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री थापामगरले बाढीबाट प्रभावित क्षेत्रलाई पुरानै अवस्थामा फर्काउन प्रदेश सरकार आवश्यक सहयोग र समन्वयका साथ अघि बढिरहेको बताए ।
बाढी तथा प्राकृतिक विपद्का कारण क्षति भएका सडक, पुल, खानेपानी, विद्युत्, सार्वजनिक भवनलगायतका संरचनाको पुनर्निर्माण चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उनले प्रभावित क्षेत्रको पुनर्निर्माणमा तीनै तहका सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए । दोलखाका स्थानीय तहहरूले आफ्नो क्षमताअनुसार सहयोग गर्दा विपद्पछिको पुनर्निर्माणमा थप सहजता हुने उनको भनाइ थियो ।
मुख्यमन्त्री थापामगरले विकास निर्माणका काममा देखिँदै आएको ढिलासुस्ती र कमजोर गुणस्तरप्रति समेत कडा रूपमा प्रस्तुत हुँदै जिम्मेवार निकायलाई जवाफदेही बन्न निर्देशन दिए । वर्षैपिच्छे एउटै योजनामा बजेट विनियोजन गर्ने तर अपेक्षाअनुसार काम सम्पन्न नगर्ने प्रवृत्तिले राज्यको स्रोतको सदुपयोग हुन नसकेको भन्दै उनले यस्तो प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताए ।
उनले विकास निर्माणका योजनामा गुणस्तर कायम गर्न निर्माण व्यवसायी, उपभोक्ता समिति, प्राविधिक तथा सम्बन्धित कार्यालय सबै जिम्मेवार बन्नुपर्ने बताए । एउटै योजनामा पटक–पटक बजेट खर्च हुने तर काम भने प्रभावकारी रूपमा सम्पन्न नहुने अवस्था स्वीकार्य नहुने उल्लेख गर्दै मुख्यमन्त्री थापामगरले गुणस्तरहीन काममा संलग्न हुनेलाई कारबाहीको दायरामा ल्याउने चेतावनी दिए ।
मुख्यमन्त्री थापामगरले जिल्लामा लामो समयदेखि अधुरा रहेका योजना तथा ठेक्का तत्काल अघि बढाउने वातावरण बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको पनि बताए । विकासका लागि बजेट विनियोजन मात्र पर्याप्त नभई समयमै काम सम्पन्न गरी त्यसको प्रत्यक्ष लाभ नागरिकसम्म पुग्नुपर्ने उनको भनाइ थियो ।
अधुरा योजना पूरा गर्ने, ठेक्का प्रक्रियामा देखिएका समस्या समाधान गर्ने तथा निर्माण कार्यलाई गति दिने विषयमा प्रदेश सरकारले आवश्यक पहल गर्ने उनले बताए । विकास निर्माणका कामलाई कागजमा मात्र सीमित नराखी परिणाम देखिने गरी अघि बढाउनुपर्नेमा उनले जोड दिए ।
जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभा सदस्य जगदीश खरेल, बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भरत केसी, प्रदेशसभा सदस्यहरू, दोलखाका स्थानीय तहका प्रमुख तथा उपप्रमुख, प्रमुख जिल्ला अधिकारीलगायत जिल्लास्थित विभिन्न सरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ मा प्रदेश सरकार तथा स्थानीय तहबाट सञ्चालन भएका योजना तथा कार्यक्रमको प्रगति, उपलब्धि, समस्या तथा आगामी कार्यदिशाका विषयमा समीक्षा गरिएको थियो । मुख्यमन्त्री थापामगरले विकासका काममा देखिएका समस्या पहिचान गरी समाधान गर्दै नागरिकले अनुभूति गर्ने गरी सेवा प्रवाह र पूर्वाधार निर्माणलाई प्रभावकारी बनाउनुपर्ने बताए ।