
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले पार्टीभित्रको एक पक्षले पूर्वसभापति शेरबहादुर देउवाको नाम र व्यक्तित्वलाई दुरुपयोग गरी पार्टीलाई कमजोर बनाउने खेल खेलिरहेको आरोप लगाएका छन् ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको जारी बैठकमा बोल्दै महामन्त्री घिमिरेले देउवाको लामो राजनीतिक योगदानको सम्मान गर्नुपर्नेमा जोड दिँदै अर्को पक्षले उनको नाममा आफ्नो राजनीतिक अस्तित्व स्थापित गर्न खोज्नु गलत भएको बताएका हुन् ।
उपचारका क्रममा विदेशमा रहेका देउवाको स्वास्थ्यलाभको कामना गर्दै घिमिरेले उनलाई केन्द्रमा राखेर भइरहेका गुटगत भेला र गतिविधिप्रति आपत्ति जनाए । घिमिरेले विगतमा देउवाकै नेतृत्वमा विभिन्न राजकीय र पार्टीगत जिम्मेवारी सम्हालेका नेताहरूले अहिले आफ्नै सामथ्र्यमा कार्यक्रम गर्न नसकेर देउवाको ‘ब्यानर’ खोज्नुलाई राजनीतिक कमजोरीको संज्ञा दिए ।
बैठकमा नेता घिमिरेले पार्टीको महाधिवेशन र आन्तरिक सुदृढीकरणको विषयमा समेत धारणा राखे । ४८ दिनसम्म केन्द्रिय समितिको बैठक बस्दा पनि नियमित महाधिवेशनको तयारी हुन नसक्नु दु:खद् भएको उनको तर्क छ ।
उनले वर्तमान नेतृत्वले नयाँ पुस्तालाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै बिपी कोइराला र जवाहरलाल नेहरूको उदाहरण प्रस्तुत गरे ।
पार्टीभित्रको विवाद र निर्वाचन आयोगको प्रक्रियाका बारेमा स्पष्ट पार्दै घिमिरेले आयोगले दुवै पक्षसँग पर्याप्त छलफल गरेको दाबी गरे ।
पार्टी सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माको बचाउ गर्दै घिमिरेले उनीहरूले पार्टी र देशको समसामयिक विषयमा स्पष्ट धारणा राख्दै आएको उल्लेख गरे । सरकारको आलोचना गर्दै उनले वर्तमान सत्ता विचार र सिद्धान्तभन्दा पनि प्रतिशोधको भावनाबाट सञ्चालित भएको टिप्पणी गरे ।
कांग्रेस अब नयाँ नेतृत्व र ऊर्जासहित पुनर्गठनको दिशामा अघि बढेको बताउँदै घिमिरेले पार्टीलाई आधारभूत तहदेखि नै सुदृढ बनाइने दृढता व्यक्त गरे । कांग्रेसको आगामी संघर्ष लोकतन्त्रको रक्षा र नयाँ पुस्ताको भविष्यका लागि भएको उनको भनाइ छ ।