२०८३ असोज ११ गते आइतवार / Sep 27 , 2026 , Sunday
२०८३ असोज ११ गते आइतवार

राष्ट्रिय सभामा खाना पकाउने ग्यासको अभाव र शान्ति सुरक्षाको विषयमा सरकारको आलोचना

Nada
२०८३ साउन २७ गते १४:२७
Shares
राष्ट्रिय सभामा खाना पकाउने ग्यासको अभाव र शान्ति सुरक्षाको विषयमा सरकारको आलोचना

काठमाडौं : संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बुधबारको बैठकमा शून्य समयमा बोल्दै सांसदहरूले मुलुकमा व्याप्त विभिन्न समस्याहरूप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । 
खाना पकाउने ग्यास (एलपी ग्यास) को चरम अभाव, शान्ति सुरक्षाको फितलो अवस्था र सरकारको कार्यशैलीलाई लिएर सांसदहरूले कडा आलोचना गरेका हुन् ।

ncell

बैठकमा सांसद कमला पन्तले बजारमा ग्यासको हाहाकार हुँदा पनि सरकारले आपूर्ति सहज छ भन्नु लज्जास्पद रहेको बताइन् । उनले जनताको घरमा चुलो बल्न छाडेको उल्लेख गर्दै यसबारे संसदमा सरकारको तर्फबाट रुलिङको माग गरिन् । त्यसैगरी, सांसद मदनकुमारी शाहले डेलिभरीको नारा दिने सरकारले जनतालाई ग्यासका लागि घण्टौं लाइनमा बस्न बाध्य बनाएको भन्दै आक्रोश व्यक्त गरिन् । 

सांसदहरू तुलप्रसाद विश्वकर्मा र नरबहादुर विष्टले माइतीघर मण्डलामा ११६ दिनदेखि धर्नारत दीपा नेपालीको मागप्रति सरकार उदासीन रहेको बताए । उनीहरूले जनताले ग्यास नपाएर सास्ती भोगिरहेको र सरकारले समस्या समाधानमा ध्यान नदिएको आरोप लगाए । 

यस्तै, सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनाप्रति सांसद नारायणदत्त मिश्रले आपत्ति जनाए । दुई समुदायबीच तनाव बढ्दा सुरक्षा संयन्त्र समयमै परिचालन हुन नसकेको टिप्पणी गर्दै उनले घटनाको निष्पक्ष न्यायिक छानबिन र दोषीलाई कारबाहीको माग गरे ।

सिरहाको गोलबजारमा भएको आगजनी र भौतिक क्षतिका सम्बन्धमा बोल्दै माननीय सदस्य मोहम्मद खालिदले पीडितलाई क्षतिपूर्ति दिन र सुरक्षाको प्रत्याभूति गराउन सरकारसँग माग गरे ।

सांसद भुवनबहादुर सुनारले सरकारको सय बुँदे कार्ययोजनाको आलोचना गर्दै सुकुम्वासी बस्तीमा डोजर आतंक, रासायनिक मलको अभाव र महँगी नियन्त्रणमा सरकार असफल भएको दाबी गरे ।

यसैगरी सांसद युवराज शर्माले राष्ट्रिय ट्रमा सेन्टरमा महँगा स्वास्थ्य उपकरण बिग्रनु, विद्युतमा भ्याट लगाइनु र कृत्रिम अभाव सिर्जना हुनुले जनतामा निराशा छाएको बताए । शून्य समयमा बोल्ने अन्य सदस्यहरूले पनि जनसरोकारका विषयमा सरकार जवाफदेही हुनुपर्नेमा जोड दिएका छन् ।

ताजा खबर

सम्बन्धित खबर