
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले राजदूतहरूसँग एक्लाएक्लै भेटवार्ता नगर्ने अघिल्लो नीतिबाट पछि हट्दै भारत र चीनका राजदूतसँग ‘वान–टु–वान’ भेट गर्ने भएका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार सोमबार बिहान ११ बजे नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेटवार्ता तय भएको छ । त्यस्तै, दिउँसो ३ बजे चिनियाँ राजदूत झाङ माओमिङसँग पनि एक्लाएक्लै छलफल हुने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री शाहले दुवै छिमेकी मुलुकका राजदूतसँग व्यक्तिगत भेट गर्ने तयारी गर्नु कूटनीतिक रूपमा महत्वपूर्ण संकेतका रूपमा हेरिएको छ । चैत १३ गते पदभार ग्रहण गरेका उनले करिब चार महिनापछि मात्र भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै औपचारिक भेट गर्न लागेका हुन् ।
यसअघि प्रधानमन्त्री शाहले चैत २५ गते विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेटवार्ता गरेका थिए । उनले सुरुवाती चरणमा राजदूतहरूसँग छुट्टाछुट्टै भेट नगर्ने नीति अवलम्बन गरेका थिए ।
यद्यपि, पछिल्लो समय उक्त नीतिमा परिवर्तन देखिएको छ । यसअघि उनले अमेरिकी प्रतिनिधि सर्जियो गोरसँग भेट अस्वीकार गरेका थिए भने भेटवार्ता तय नहुँदा भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमणसमेत अन्तिम समयमा स्थगित भएको थियो ।