
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान राजनीतिक उतारचढाव र बजारमा फैलिएका हल्लाबाट नआत्तिन आग्रह गर्दै सरकारलाई सही दिशामा अघि बढाएर गन्तव्यमा पुर्याउने प्रतिबद्धता जनाएका छन् ।
काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले राजनीतिक अस्थिरताबारे फैलाइने चर्चालाई “विकेन्ड स्न्याक्स” का रूपमा लिन सुझाए । उनका अनुसार यस्ता हल्लाले वास्तविक अवस्थालाई प्रतिबिम्बित नगर्ने भएकाले आम नागरिक र सरोकारवालाले संयमित दृष्टिकोण अपनाउनुपर्ने हुन्छ ।
सभापति लामिछानेले हवाई उडानको उदाहरण दिँदै यात्रामा कहिलेकाहीँ देखिने टर्बुलेन्सलाई स्वाभाविक प्रक्रिया भएको बताए । “जहाज हल्लियो भन्दैमा दुर्घटना हुन्छ भन्ने हुँदैन, सिट बेल्ट बाँधेर ढुक्क हुनुपर्छ,” उनले भने, “हामी देशरूपी जहाजलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउनेछौं ।”
उनले विगतका नेतृत्वलाई दोषारोपण गर्दै उम्किने प्रवृत्तिबाट टाढा रहने स्पष्ट पार्दै अबको जिम्मेवारी युवा पुस्ताले लिनुपर्ने बताए । “अब दोष अरूलाई लगाउने समय होइन, जिम्मेवारी हाम्रो काँधमा आएको छ,” उनले भने ।
निजी क्षेत्रमा देखिएको त्रास र अन्योलप्रति संकेत गर्दै लामिछानेले व्यवसायीहरूलाई डरको वातावरणमा काम गर्न बाध्य पार्न नहुने धारणा राखे । उनका अनुसार व्यापार–व्यवसायका क्रममा भएका कमजोरीलाई आर्थिक अपराधको दृष्टिकोणबाट मात्र हेर्नुपर्ने हुन्छ, अन्य आपराधिक मुद्दाझैं व्यवहार गर्दा लगानी र उद्यमशीलतामा नकारात्मक असर पर्छ ।
“अन्य अपराधीजस्तो कहिले पक्राउ गरिएला भन्ने डरमा कसैले व्यवसाय गर्न सक्दैन,” उनले भने, “सरकारले निजी क्षेत्रलाई विश्वास दिलाउने वातावरण बनाउनुपर्छ ।”
सरकारको कार्यसम्पादनबारे बोल्दै उनले चार महिनाको अवधिलाई पूर्ण मूल्याङ्कनका लागि पर्याप्त नभए पनि प्राप्त सुझाव र आलोचनालाई आत्मसात गर्दै अघि बढ्ने बताए । साथै, सरकार लक्ष्यबाट विचलित भएमा आफ्नै पार्टीले आवश्यक हस्तक्षेप गरी सही मार्गमा फर्काउने दाबी गरे ।