२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

इमान्दार कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षा म गर्छु, भाग्नेलाई ठाउँ छैन : अध्यक्ष लिङदेन

Nada
२०८३ साउन २३ गते १४:१०
Shares
इमान्दार कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षा म गर्छु, भाग्नेलाई ठाउँ छैन : अध्यक्ष लिङदेन

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले पार्टीप्रति निष्ठावान र क्रियाशील कार्यकर्ताहरूको राजनीतिक भविष्य सुनिश्चित गर्ने जिम्मेवारी आफूले लिने बताएका छन् । 

ncell

राप्रपा काठमाडौं महानगरपालिका नगर कमिटीको अधिवेशनलाई शनिवार सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले पार्टीमा अवसर र व्यक्तित्व विकासको चिन्ता गरेर विचलित नहुन कार्यकर्ताहरूलाई आग्रह गरे । 

अध्यक्ष लिङदेनले पार्टी र देशको सेवामा समर्पित हुन चाहने हरेक व्यक्तिको राजनीतिक भविष्यको सुरक्षा गर्ने प्रतिवद्धता व्यक्त गरे । अन्तरसंघर्ष वा विगतका कुनैपनि मतभेदका कारण कोही पनि त्रसित हुनु नपर्ने उल्लेख गर्दै उनले आफू सबैको अभिभावक भएर काम गर्ने बताए। यद्यपि, जिम्मेवारी लिएर काम नगर्ने र संकटको समयमा पछि हट्नेहरूका लागि पार्टीमा कुनै स्थान नहुने उनले स्पष्ट पारे । 

उनले भने, ‘पार्टी अध्यक्षको हैसियतले म विश्वास दिलाउन चाहन्छु, राजनीतिमा लागेर पार्टी र देशको सेवा गर्न चाहने कसैले पनि अवसर पाउँदिन कि भनेर डराउनु पर्दैन । सबैको राजनीतिक भविष्य सुरक्षित गर्ने जिम्मेवारी म लिन्छु । काम गर्ने साथीहरूका लागि पार्टीमा पूर्ण ठाउँ छ, तर पद मात्र ओगट्ने र लडाइँको बेला भाग्नेहरूलाई म आफैँ धकेलेर बिदा गरिदिन्छु । पहिले आफ्नो परिवारका सदस्यहरूलाई राप्रपामा आवद्ध गराउनुस् । आफ्नै परिवारका सदस्यले नपत्याएको व्यक्तिलाई छिमेकी र समाजले विश्वास गर्दैनन् ।’

पार्टीको सङ्गठन सुदृढीकरणका लागि अहिले सक्रिय सदस्यता अभियान चलिरहेको जानकारी दिँदै अध्यक्ष लिङदेनले यस कार्यमा तत्काल केन्द्रित हुन कार्यकर्ताहरूलाई निर्देशन दिए। 

अध्यक्ष लिङदेनले योजनावद्ध ढंगले नातागोता र छरछिमेक हुँदै संगठन विस्तारमा लाग्न आग्रह गर्दै निकट भविष्यमा राप्रपामा जनलहर आउने दाबी समेत गरे । इमान्दार भएर वडा जिताउने र पार्टीको जिम्मेवारी बहन गर्ने संकल्पका साथ अघि बढ्न उनले कार्यकर्तालाई हौसला दिए । 

ताजा खबर

सम्बन्धित खबर