२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

अजित मिजार हत्या प्रकरण : न्यायको माग गर्दै मन्त्री बादी र सचेतक परियारसँग परिवारको भेट

Nada
२०८३ साउन २२ गते १८:५९
Shares
अजित मिजार हत्या प्रकरण : न्यायको माग गर्दै मन्त्री बादी र सचेतक परियारसँग परिवारको भेट

​काठमाडौँ : अन्तर्जातीय प्रेम विवाह गरेकै कारण ज्यान गुमाएका काभ्रेका अजीत मिजारले लामो समयदेखि न्याय पाएका छैनन् १० बर्षदेखि न्यायको ढोका ढकढकाई रहेको मिजार परिवारले नयाँ सरकारसँग न्यायको आशा गर्दै पुन: फरेन्सिक परीक्षण गर्न माग गरेको छ । 

ncell

शुकबार अजितका बुवा हरिभक्त ढकाल (मिजार) र आमा काली मिजारले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक मन्त्री सीता बादी तथा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारसँग भेटेर न्यायको याचना गर्दै अजितको शवको पुन: फरेन्सिक परीक्षण गर्न माग गरेका हुन् । ​

२०७३ सालमा अजित मिजारको रहस्यमय मृत्यु भएको थियो । अजितको शव अहिले पनि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । 

न्याय नपाएसम्म शव नबुझ्ने अडानमा रहेका मिजार दम्पतीले शुक्रबार ​मन्त्रालयमा भएको छलफलका क्रममा नयाँ सरकारले न्याय दिलाउने आशा रहेको सुनाए । उनीहरूले घटनाको सत्यतथ्य बाहिर ल्याउन र निष्पक्ष छानबिन सुनिश्चित गर्न अजितको शवको फरेन्सिक (विधि विज्ञान) परीक्षणको व्यवस्था मिलाइदिन मन्त्री बादी र सचेतक परियारसमक्ष माग राखे । 

​सो क्रममा मन्त्री बादी र सचेतक परियारले मिजार परिवारको पीडाप्रति पूर्ण सहानुभूति प्रकट गर्दै न्याय दिलाउने प्रक्रियामा राज्यका तर्फबाट आवश्यक सहयोग र पहल गर्ने आश्वासन दिएका छन् । 

काभ्रेका अजीतको शव धादिङको गजुरी गाउँपालिकास्थित ठाँटीमा फेला परेको थियो । प्रहरीले परिवारलाई जानकारी नै नदिइ शव उठाएर गाडेको थियो । पछि परिवार र अधिकारकर्मीको दबाबपछि शव उधिनेर पोष्टमार्टम गरिएको थियो । अजित हत्याको विषयमा जिल्ला, उच्च हुँदै सर्वोच्च अदालतसम्म पुगिसकेको छ । तर प्रहरीकै मिलेमतो र प्रमाण संकलनमा कमजोरीका कारण आरोपितहरूले सफाइ पाएको परिवारको आरोप छ । पीडित परिवारले सर्वोच्च अदालतमा पुन: फरेन्सिक परीक्षणको माग गरेपनि त्यसअनुसार हुन सकेको छैन ।
 

ताजा खबर

सम्बन्धित खबर