२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

बझाङका निगालोका हस्तकला चीनको ताक्लाकोट बजारमा

Nada
सत्यराज सिंह
२०८३ साउन २२ गते १७:५४
Shares
बझाङका निगालोका हस्तकला चीनको ताक्लाकोट बजारमा

बझाङ : बझाङको साइपाल गाउँपालिकाका बासिन्दाले निर्माण गरेका निगालोका हस्तकलाका सामानहरू चीनको तिब्बतस्थित ताक्लाकोट बजारमा बिक्रीवितरण भइरहेका छन् । बझाङ र चीनको सीमा जोडिएको उरैलेक नाका हुँदै स्थानीय व्यापारीहरू आफ्नो उत्पादन बजारीकरणका लागि ताक्लाकोट पुगेका हुन् ।

ncell

साउन १२ गते मंगलबार ४३ वटा खच्चडसहित व्यापारीहरूको टोली उरै नाका पार गरी ताक्लाकोट पुगेको साइपाल गाउँपालिका–३ का स्थानीय हरिभान बोहराले जानकारी दिए ।

उनका अनुसार यसरी ताक्लाकोट पुर्‍याइएका सामानहरूमा मुख्यगरी निगालोका डोका, बन्चरोका बिँड, ल्याक्च्या र भाड रहेका छन् । यी सामानहरू केही व्यक्तिहरूले आफैं बोकेर र केही खच्चडमार्फत ढुवानी गरेर ताक्लाकोट पुर्‍याइएको उनले बताए ।

पुर्खौंदेखि चल्दै आएको यो व्यापारलाई निरन्तरता दिन साइपाल गाउँपालिका–१ का केब्जन बोहरासहितका व्यापारीहरू करिब ७ दिनको पैदल यात्रा तय गरेर ताक्लाकोट पुगेका छन् । तर, विगतका वर्षहरूको तुलनामा यस वर्ष व्यापार सन्तोषजनक नभएको व्यापारीहरूको गुनासो छ । 

बजारमा प्लास्टिक र टिनबाट बनेका सस्ता तथा वैकल्पिक सामग्रीहरूको बढ्दो प्रयोगका कारण निगालोबाट बनेका परम्परागत सामानहरूको माग केही घटेको व्यापारी केब्जन बोहराले बताए । चीनको ताक्लाकोट बजारमा नेपाली निगालोका सामानहरू डोको ७० युआन (नेपाली १,६१० रूपैयाँ), बन्चरोका बिँड ३० युआन (नेपाली ६९० रुपैयाँ) र ल्याक्च्या १०० युआन (नेपाली २,३०० रुपैयाँ) मा बिक्री भइरहेका छन् ।

अर्का व्यापारी बसन्त बोहराले पुर्ख्यौली पेशालाई बचाउन ७ दिनसम्म भारी बोकेर पैदल हिँडेर ताक्लाकोट आए पनि सोचेजस्तो नाफा नभएको बताए । उनले भने, ‘हाम्रा पुर्खाहरू पनि यहाँ व्यापार गर्न आउनुहुन्थ्यो, हामी पनि आएका छौं । तर पहिले जस्तो राम्रो व्यापार अहिले छैन, जसले गर्दा गरिएको कष्ट र मेहनत अनुसारको आम्दानी हुन सकेको छैन ।’

ताजा खबर

सम्बन्धित खबर