२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

वर्तमान सरकारमा शासकीय अराजकता हाबी भयो : गगन थापा

Nada
२०८३ साउन २२ गते १४:१३
Shares
वर्तमान सरकारमा शासकीय अराजकता हाबी भयो : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकार ‘शासकीय अराजकता’ तर्फ उन्मुख भएको आरोप लगाएका छन् ।

ncell

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै नेता थापाले सरकारको कार्यशैली र जिम्मेवार पदाधिकारीहरूको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् । लोकतान्त्रिक पद्धतिमा विधिको शासन सर्वोपरि हुने उल्लेख गर्दै थापाले कानुनभन्दा माथि कोही पनि हुन नसक्ने बताए ।

सभापति थापाले मन्त्री र सांसदहरूबाटै उत्तेजक र धम्कीपूर्ण अभिव्यक्तिहरू सार्वजनिक हुनुले विधिको शासनलाई चुनौती दिएको तर्क गरे । विभिन्न माग राखेर आन्दोलनरत पक्षहरूसँग सरकारले गर्ने सम्झौता कार्यान्वयन नभएको प्रति पनि उनले चिन्ता व्यक्त गरे ।

लघुवित्त र सहकारी पीडित, शिक्षक, नर्स तथा चिकित्सकहरूका समस्या समाधानमा सरकार गम्भीर नभएको उनको आरोप छ । सरकारले गरेका सम्झौताहरू कार्यान्वयन नहुँदा नागरिकको भरोसा राज्यबाटै टुट्दै जाने खतरा रहेको उनले बताए । 

प्रतिपक्षको भूमिकाबारे स्पष्ट पार्दै थापाले नेपाली कांग्रेसले जिम्मेवार राजनीतिक दलको रूपमा सरकारलाई उत्तरदायी बनाउन दबाब दिने बताए । सभापति थापाले कांग्रेसको आदर्श र सिद्धान्त नै विधिको शासन र लोकतन्त्र भएकाले अहिलेको प्रतिकूल अवस्थामा जनतालाई सम्हाल्ने र लोकतान्त्रिक मूल्यको रक्षा गर्ने जिम्मेवारी कांग्रेसको काँधमा रहेको समेत उल्लेख गरे । 

ताजा खबर

सम्बन्धित खबर