
म्याराथन आफैंमा साहसिक विधा हो । ४२.१९५ किलोमिटर दौड पूरा गर्नु जति कठिन छ, आयोजना पक्ष पनि उत्तिकै चुनौतीपूर्ण छ । म्याराथन आयोजकका रूपमा सधैं असम्भवलाई सम्भव बनाउने व्यक्तिहरूबाट प्रेरणा खोजिरहने मेरो बानी छ । निर्मल पुर्जा अर्थात् निम्स दाइ हिमाल आरोहणमार्फत असम्भवलाई सम्भव बनाउने साहसिक पात्र हुन् ।
म्याराथन र हिमाल फरक विधा हुन्, तर दुवैको आत्मा एउटै हो । सीमालाई चुनौती दिने साहस । नेपालीसँग त्यो गुण छ । नेपाललाई संसारले चिन्ने भनेकै सगरमाथा, गौतम बुद्ध र नेपालीको अदम्य साहसका लागि नै हो । इतिहास लेख्ने हुटहुटी सबैसँग समान हुन्छ, सपना सानो वा ठुलो, कमजोर वा समृद्ध देशको अलग–अलग हुँदैन, सबैको समान हुन्छ । सानो देशको एक सहरमा गरिने नेपालगन्ज म्याराथनले सयौं म्याराथन आयोजकको भिडमा एम्स सोसल अवार्ड प्राप्त गर्नु पनि त्यस्तै एउटा दृष्टान्त हो भन्ने म ठान्छु । सानो सहरले पनि ठुला सपना देख्न सक्छ । सपना साकार पार्न सक्छ । निम्स पनि त्यही भिडमा सपना देख्ने युवा थिए ।
ब्रिटिस सेनाको सुरक्षित जागिरभन्दा निम्सले सपना रोजे । त्यो सपना हो, ‘नेपाली भरिया मात्र हैनन्, नेतृत्वकर्ता हुन्, इतिहास निर्माणकर्ता हुन् ।’ सन् २०१९मा विश्वका १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल केवल ६ महिना ६ दिनमा आरोहण गरेर असम्भव भन्ने शब्दलाई उनले चुनौती दिएका थिए । त्यो केवल विश्व कीर्तिमान थिएन, नेपाली आत्मविश्वासको पुनर्जन्म थियो । त्यसअघि संसारले नेपाली शेर्पालाई भरिया मात्र ठान्थ्यो । सहयोगीका रूपमा चिन्थ्यो । शेर्पाहरूको सहारामा विदेशी आरोही शिखरसम्म पुग्थे, तर विश्वका समाचारमा उनीहरूको नाम बिरलै लेखिन्थ्यो । हो, निम्सले यही कथा परिवर्तन गरिदिए । निम्सको ठुलो उपलब्धि पनि सायद यही हो । शेर्पाहरू निम्सप्रति नतमस्तक थिए, गर्व गर्थे । विश्व कीर्तिमानहरू समयसँगै तोडिन्छन् । तर, सोच बदल्ने मानिसहरू बिरलै जन्मिन्छन् । नेपालको दुर्गम जिल्ला म्याग्दीमा जन्मिएका निर्मल अर्थात् निम्स बिरलै जन्मिनेमा पर्छन् ।
सन् २०२१मा केटु हिमालको पहिलो शीतकालीन आरोहणका बेला निम्सले सम्पूर्ण नेपाली टोलीलाई एउटै समूहका रूपमा शिखरमा पुर्याए । त्यहाँ गुन्जिएको नेपालको राष्ट्रिय गान संसारका लागि केवल एउटा गीत थिएन, त्यो थियो– नेपालीले नेतृत्व गर्न सक्छन् ।
निम्सले प्रमाणित गरेको अर्को कुरा हो, व्यक्तिगत सफलता पनि राष्ट्रिय ब्रान्ड बन्न सक्छ । उनको एलिट एक्सपिडिसनमार्फत संसारका धेरै प्रभावशाली व्यक्तिहरू नेपाल आए । कतारकी राजकुमारीदेखि विश्वका अनेक सफल व्यवसायी र साहसिक यात्राप्रेमीहरू नेपाली गाइडको नेतृत्वमा हिमाल चढ्न थाले । यसले नेपालको पर्वतीय पर्यटनलाई नयाँ विश्वास दियो । उनले केवल आरोहण गराएनन्, नेपालको साहसिक पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरको ब्रान्ड बनाए । उनले आफ्नै ब्रान्डका पर्वतारोहण सामग्री उत्पादन गरे । डकुमेन्ट्री, पुस्तक र डिजिटल माध्यमबाट नेपाललाई विश्वभरि पुर्याए । सामाजिक उत्तरदायित्वका काम गरे । विपद्का बेला सहयोग गरे । यस्ता काम केवल व्यवसायका लागि हुँदैनन्, दूरदृष्टि भएका मानिसले गर्दछन् । निम्स यस्तै सपना देख्ने दूरदृष्टि भएका पात्रका रूपमा प्रस्तुत गरिरहे । बेलाबखत आएका आरोपलाई आरोपमै सीमित गराइदिए ।
केही दिनअघि पाकिस्तानको ब्रोड पिकमा आएको विनाशकारी हिमपहिरोले नेपालको एउटा सपना खोस्यो । निर्मल पुर्जा, जसले संसारलाई बारम्बार सिकाए, ‘असम्भव भन्ने केही छैन ।’ त्यो सपनाको नायक पाकिस्तानको हिमालमा विलय भयो ।
निम्सको कार्यालय एक समय काठमाडौं कपनस्थित म बस्ने घरनजिक थियो । केही वर्षअघि भीषण आगजनीबाट ध्वस्त भयो । पछि त्यो कार्यालय कता सारियो, थाहा भएन । निम्सलाई नेपालगन्ज म्याराथनमा बोलाउने साथीहरूको इच्छा थियो । उनीसँग भेट्ने मेरो इच्छा पनि अधुरै रह्यो । नेपालगन्ज म्याराथनमा आएका भए उनले युवाहरूलाई पक्कै भन्थे होला, ‘सपना देख्न नडराऊ, सपनातर्पm दौडिन नछोड ।’ किनकि दुवैको दर्शन एउटै हो । दुवैमा सर्टकट हुँदैन, दुवैमा धैर्य चाहिन्छ, दुवैमा पीडा हुन्छ । दुवैमा हार मान्न सजिलो हुन्छ । तर, अन्तिमसम्म टिक्नेहरूले नै इतिहास बनाउँछन् ।
नेपालसँग तेल छैन, सुनका खानी छैनन् । तर, नेपालसँग हिमाल छन् । साहस छ । युवा छन् । राज्यको नीति परिमार्जन गरिदिए संसारलाई रोडरेस (म्याराथन)मार्फत पर्यटन प्रवर्धन गर्ने सामथ्र्य पनि नेपालसँग उत्तिकै छ । निम्सजस्ता सपनालाई कर्ममा बदल्न सक्ने मानिस पनि त छन् । त्यसैले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने ठुलो शक्ति खेलकुद र साहसिक पर्यटन नै हो भन्ने मेरो विश्वास झन् बलियो हुँदै गएको छ ।
सामान्य नेपालीले लिएको यो उचाइ वास्तवमा लोभलाग्दो नै रह्यो । निम्सका बारेमा लेखिरहँदा मलाई अर्को क्षण पनि उत्तिकै स्मरणयोग्य लाग्छ । धारा नेपालगन्ज म्याराथनले एम्स सोसल अवार्ड प्राप्त गर्न सफल भयो । विश्वका सयौं म्याराथनको बीचमा नेपालगन्ज म्याराथनलाई सामाजिक प्रभावका लागि सम्मानित गरिनु केवल एउटा पुरस्कार थिएन । एउटा सन्देश थियो । निम्सले संसारलाई भने– ‘असम्भव केही छैन ।’ हामीले दौड संस्कृतिमार्फत भन्न खोजिरहेका छौं, कोही पछाडि छुट्दैन । सामाजिक एकता, आपसी मित्रता, समानता, विभेदको अन्त्य सबै म्याराथनमार्फत नै सम्भव छ । निरन्तरता, धैर्यता, अनुशासनले म्याराथनको दूरी पूरा गरेजस्तै जीवन पनि त्यसरी नै पूरा हुन्छ । हामीले दौडमार्फत यही शिक्षा बाँडिरहेका छौं । सबैले आ–आफ्नो कर्मलाई इमानदारीपूर्वक अगाडि बढाए विश्वमा पहिचान निर्माण गर्न गाह्रो छैन । जसरी निम्सले अलग परिचय बनाए ।
निम्सले शिखर चढेर नेपालको अलग परिचय दिए । हामीले दौडमार्फत समाजलाई जोडेर नेपालको परिचय दिन खोजिरहेका छौं । उनले हिमाललाई प्रयोग गरेनन्, सम्मान गरे । हामीले म्याराथनलाई केवल प्रतियोगिता बनाएका छैनौं, सामाजिक परिवर्तनको अभियान बनाएका छौं । मलाई लाग्छ, पर्वतारोहण र म्याराथन एउटै दर्शनका दुई अध्याय हुन् । दुवैले सिकाउने एउटै शिक्षा हो, धैर्यता, अनुशासन, त्याग, विश्वास र साहस । अल्बर्ट आइन्सटाइनले भनेका थिए, ‘कल्पना ज्ञानभन्दा ठुलो हुन्छ ।’
निम्सले त्यसलाई पुनर्लेखन गरिदिए, कल्पनामा साहस जोडियो भने इतिहास बन्छ । तर, जीवनले कहिलेकाहीँ बीच बाटोमै यात्रा रोकिदिन्छ । यात्रा रोकिए पनि सपना रोकिन्न । निम्सको सपना पक्कै रोकिएको छैन । नेपाली युवामाझ रोपेको सपना पक्कै जीवित छ । यो सपना कुनै पदकभन्दा पक्कै ठुलो छ ।
(लेखक ठकुरी एम्सका नेपाल प्रतिनिधि तथा नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष हुन् ।)