
नवलपरासी : नारायणी नदीमा आएको बाढीसँगै पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ पुनः गम्भीर संकटमा परेको छ । नदीले थारु टोलसहितका बस्ती र सयौँ बिघा खेतीयोग्य जमिनतर्फ तीव्र कटान गर्न थालेपछि स्थानीयवासी आफ्नै श्रम, स्रोतसाधन र सामूहिक प्रयासका भरमा अस्थायी तटबन्ध निर्माण गर्दै बस्ती जोगाउने अभियानमा जुटेका छन् । राज्यबाट दिगो तटबन्ध निर्माणको योजना अघि बढे पनि सीमावर्ती क्षेत्रमा भारतीय अवरोधका कारण मुख्य जोखिमयुक्त क्षेत्रमा स्थायी संरचना बन्न नसक्दा सुस्तावासी वर्षेनी उस्तै त्रासमा बाँच्न बाध्य भएका छन् ।
बुधबार बेलुकादेखि सयौँ स्थानीय युवा, महिला, वृद्ध तथा बालबालिका नदी किनारमा खटिएका छन् । उनीहरूले बोरामा माटो र गिट्टी भरेर, बाँस गाडेर तथा रुखका हाँगा प्रयोग गर्दै नदीको बहाव रोक्ने प्रयास गरिरहेका छन् । बाढीको पानी बस्तीतर्फ पस्न थालेपछि स्थानीयले रातदिन नभनी जनश्रमदानलाई तीव्र बनाएका छन् ।
‘सुस्ता बचाउ अभियान’ का प्रवक्ता रविन्द्र जयसवालले थारु टोल क्षेत्रमा कटान अत्यधिक बढेकाले स्थानीय आफैँ अग्रसर भएर बस्ती जोगाउने अभियान सञ्चालन गर्नुपरेको बताए ।
उनले भने, ‘नारायणी नदीले थारु टोलतर्फ तीव्र कटान गरिरहेको छ । बाढीको पानी बस्तीमा पस्न थालेपछि सम्पूर्ण स्थानीय जनश्रमदानमा जुटेका छौं । जसरी पनि बस्ती जोगाउने हाम्रो प्रयास जारी छ ।’
अभियानकी महिला नेतृ नुरजहाँ बेगमका अनुसार महिलाहरू पनि अग्रपङ्क्तिमा रहेर बस्ती बचाउने अभियानमा सक्रिय छन् ।
उनले भनिन्, ‘बचेखुचेको जमिन पनि नदीले कटान गरिरहेको छ । महिला, पुरुष र बालबालिका सबै मिलेर दिनरात बोरा भर्ने र अस्थायी तटबन्ध बनाउने काम गरिरहेका छौं ।’
स्थानीयका अनुसार सुस्तामा तटबन्ध निर्माणका लागि सरकारले बजेट विनियोजन गरे पनि सबैभन्दा जोखिमयुक्त क्षेत्रमा भारतीय पक्षको अवरोधका कारण दिगो तटबन्ध निर्माण हुन सकेको छैन । अधिकांश स्थानमा तटबन्ध बने पनि वर्षौंदेखि बाढी पस्ने थारु टोल क्षेत्रमा स्थायी संरचना नबन्दा बस्ती अझै उच्च जोखिममा छ ।
केही दिनअघि सीमावर्ती क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) का सुरक्षाकर्मीले नेपाली भूमितर्फ प्रवेश गरी हस्तक्षेप गर्न खोजेको घटनापछि स्थानीयमा थप चिन्ता बढेको छ । सीमा विवादको संवेदनशील अवस्थाबीच अहिले नारायणी नदीको बाढी र कटानले सुस्तालाई दोहोरो संकटमा धकेलेको स्थानीयको भनाइ छ ।
तीनैतर्फ नारायणी नदी र एकातर्फ भारतीय भूभागले घेरिएको सुस्ता हरेक वर्ष वर्षायाममा बाढी र कटानको चपेटामा पर्दै आएको छ। नदीले खेतीयोग्य जमिन बगाउने, बस्ती डुबानमा पार्ने र स्थानीयलाई विस्थापित बनाउने समस्या दोहोरिए पनि यसको दीर्घकालीन समाधान अझै हुन सकेको छैन ।
स्थानीयवासीले तत्काल आपत्कालीन संरक्षणका उपाय अवलम्बन गर्न, दिगो तटबन्ध निर्माणलाई तीव्रता दिन, नदी नियन्त्रणका प्रभावकारी योजना कार्यान्वयन गर्न तथा सीमासम्बन्धी अवरोध समाधानका लागि नेपाल सरकारले उच्च प्राथमिकताका साथ कूटनीतिक पहल गर्न माग गरेका छन्। उनीहरूको भनाइमा, जनश्रमदानले केही समयका लागि बस्ती जोगाउन सकिए पनि स्थायी समाधानबिना सुस्ताको अस्तित्व नै थप जोखिममा पर्दै गएको छ ।