
दोहा, कतार : कतार सेन्ट्रल बैंकले प्रचलित राष्ट्रिय कानुन अनुसार पाँचौं शृङ्खला अन्तर्गतका ५, १० र ५० रियाल दरका बैंक नोटहरूमा केही परिमार्जन तथा सुधार गरेको जनाएको छ ।
बैंकका अनुसार नयाँ नोटहरूमा कतार राज्यको आधिकारिक प्रतीक अरबी अंकहरू तथा नोट जारी गरिएको मिति समावेश गरी आवश्यक परिवर्तन गरिएको हो । यी परिमार्जनले नोटहरूको आधिकारिकता, सुरक्षा तथा पहिचानलाई थप स्पष्ट र व्यवस्थित बनाउने विश्वास बैंकले व्यक्त गरेको छ ।
कतार सेन्ट्रल बैंकले यसअघि जारी गरिएका पाँचौँ शृङ्खलाका ५, १० र ५० रियालका पुराना नोटहरू पनि पूर्ववत् रूपमा कानुनी मान्यता प्राप्त मुद्राका रूपमा चल्तीमा रहने स्पष्ट पारेको छ । त्यसैले सर्वसाधारणले पुराना नोट प्रयोग गर्दा कुनै समस्या नहुने बैंकको भनाइ छ ।
बैंकले अन्य दरका नोटहरूमा समेत आगामी दिनमा क्रमशः यस्तै प्रकृतिका परिमार्जन लागू गरिने जनाएको छ । नयाँ स्वरूपका बैंक नोटहरू चरणबद्ध रूपमा बजारमा प्रचलनमा ल्याइने कतार सेन्ट्रल बैंकले जानकारी दिएको छ ।