२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

लमजुङ सेवा समाज कतारको अध्यक्षमा थापा निर्विरोध निर्वाचित

Nada
२०८३ जेठ २४ गते १९:४७
Shares
लमजुङ सेवा समाज कतारको अध्यक्षमा थापा निर्विरोध निर्वाचित

दोहा, कतार : लमजुङ सेवा समाज कतारको १६औं अधिवेशनबाट कल्याण थापाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ ।

ncell

शुक्रबार दोहास्थित गोर्खाली रेस्टुरेन्टको सभा हलमा सम्पन्न अधिवेशनको बन्द सत्रले थापाको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रवीन्द्र भण्डारी, उपाध्यक्षमा रवीन्द्र गुरुङ, राज श्रेष्ठ र कुमारी गुरुङ, महासचिवमा प्रशान्त कुमाल, सचिव द्वय देव अधिकारी र फलेन्द्र गुरुङ तथा कोषाध्यक्षमा पवन थापा मगर निर्वाचित भएका छन् ।

समाजका अध्यक्ष विनोद प्रसाद बसौंलाको सभापतित्व तथा गण्डकी प्रदेश समन्वय परिषद् कतारका अध्यक्ष नन्दलाल विक (अजय) को प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनको खुला सत्र राष्ट्रिय गान तथा दीप प्रज्वलनबाट सुरु भएको थियो । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष कल्याण थापाले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कलाकार पवन थापा मगर र नरिमाया थापा मगरले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।

अधिवेशनमा विभिन्न सामाजिक तथा क्षेत्रीय संस्थाका प्रतिनिधिहरूले शुभकामना मन्तव्य व्यक्त गर्दै लमजुङ सेवा समाजले स्थापना कालदेखि गर्दै आएका सामाजिक तथा रचनात्मक कार्यको प्रशंसा गरेका थिए । वक्ताहरूले संस्थासँग सहकार्य र समन्वयलाई निरन्तरता दिने प्रतिबद्धता समेत जनाएका थिए ।

प्रमुख अतिथि विकले लमजुङ सेवा समाजले सञ्चालन गर्दै आएका सन्देशमूलक कार्यक्रमले कतारमा स्थापित अन्य संघसंस्थालाई समेत प्रेरणा दिएको बताए । उनले समाजले गरेका सामाजिक कार्यको प्रशंसा गर्दै आगामी दिनमा गण्डकी प्रदेश समन्वय परिषद्ले संस्थासँग सहकार्य र समन्वयलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा विभिन्न कलाकारहरूले सांगीतिक प्रस्तुति दिएका थिए । समाजले प्रमुख अतिथि, सल्लाहकार तथा कार्यसमिति सदस्यहरूलाई सम्मान गर्नुका साथै कलाकारहरूलाई सम्मान पत्र प्रदान गरेको थियो। कार्यक्रममा कोषाध्यक्ष राज श्रेष्ठले आर्थिक प्रतिवेदन र महासचिव रवीन्द्र भण्डारीले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

निर्वाचन समितिका संयोजक सन्तोष क्षेत्रीले नवनिर्वाचित कार्यसमितिको घोषणा गर्दै पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए । निर्वाचन समितिका सदस्यमा अग्निधर देवकोटा र विकास श्रेष्ठ रहेका थिए ।

ताजा खबर

सम्बन्धित खबर