२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

कम्बोडियामा रहेका ६६ नेपालीलाई तत्काल स्वदेश फर्कन दूतावासको आग्रह

Nada
२०८३ जेठ २४ गते १९:१५
Shares
कम्बोडियामा रहेका ६६ नेपालीलाई तत्काल स्वदेश फर्कन दूतावासको आग्रह

काठमाडौं : थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले कम्बोडियामा भिसा अवधि समाप्त भई अवैध रूपमा बसिरहेका ६६ जना नेपाली नागरिकलाई तत्काल स्वदेश फर्कन निर्देशन दिएको छ । दूतावासले एक सार्वजनिक सूचना जारी गर्दै तोकिएको समयमा नेपाल नफर्किए कम्बोडियाको नयाँ कानुन अनुसार भारी जरिवाना र आजीवन कारावाससम्मको सजाय हुन सक्ने चेतावनी दिएको छ ।

ncell

विभिन्न उद्देश्यले कम्बोडिया पुगी भिसा अवधि समाप्त भएर पनि ६०२ जना नेपाली नागरिकहरू त्यहाँ बसिरहेको पाइएको थियो । उनीहरूको सहज फिर्तीका लागि कम्बोडिया सरकारले भिसा शुल्क र जरिवाना रकम मिनाहा गरी स्वदेश फर्कन सहजीकरण गरिदिएको थियो । तर दूतावासले इमेल, फोन र ह्वाट्सएपमार्फत बारम्बार सम्पर्क गर्दा पनि सूचीमा रहेका ६६ जना नेपालीहरूले स्वदेश फर्कन कुनै तदारुकता नदेखाएको सूचनामा उल्लेख छ ।

कम्बोडिया सरकारको नयाँ कानुन अनुसार, तोकिएको समयमा आफ्नो मुलुक नफर्कने विदेशी नागरिकहरूलाई कसुरको प्रकृति हेरी ५ लाख अमेरिकी डलरसम्म जरिवाना र आजीवन कारावाससम्मको सजाय हुन सक्ने व्यवस्था गरिएको छ । यसैलाई मध्यनजर गर्दै दूतावासले सम्बन्धित सबैलाई आगामी १२ जुन २०२४ भित्र नेपाल फर्कने गरी हवाई टिकटको व्यवस्था मिलाउन अनुरोध गरेको छ ।

दूतावासले कम्बोडियामा रहेका ती नेपालीका परिवारजन र आफन्तहरूलाई पनि आफ्ना मान्छेहरूलाई यथाशीघ्र नेपाल फर्काउने व्यवस्था मिलाउन आग्रह गरेको छ । विभिन्न प्रलोभनमा परी कानुनी आधार बिना लुकिछिपी बस्दा कम्बोडियाली सुरक्षा निकायले जुनसुकै बेला पक्राउ गरी कठोर कानुनी सजाय दिन सक्ने भएकाले समयमै सचेत हुन सूचित गरिएको छ ।

दूतावासले जारी गरेको सूचीमा विवेक मल्ल, अमन प्रसाद साह, अनुस वाग्वा बीके लगायत ६६ जनाको नाम उल्लेख गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर