२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

कतारमा नेपाली श्रमिकका लागि बृहत् सचेतना कार्यक्रम सम्पन्न

Nada
तिलु शर्मा पौडेल
२०८३ जेठ २३ गते २१:५५
Shares
कतारमा नेपाली श्रमिकका लागि बृहत् सचेतना कार्यक्रम सम्पन्न

दोहा : कतारस्थित नेपाली राजदूतावासको आयोजनामा कतारमा कार्यरत नेपाली श्रमिकहरूका लागि एक विशेष तथा बृहत् सचेतना कार्यक्रम सम्पन्न भएको छ । दूतावासकै सभा हलमा आयोजित उक्त कार्यक्रममा कतारका विभिन्न क्षेत्रमा कार्यरत करिब १०० जना नेपाली महिला श्रमिकहरूको उत्साहजनक सहभागिता रहेको थियो । श्रमिकहरूलाई स्थानीय नियम, कानुनी अधिकार, सुरक्षित कार्य वातावरण, बैंकिङ साक्षरता र व्यक्तिगत हितका विविध पक्षमा सुसूचित गराउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा सम्बन्धित क्षेत्रका सिद्धहस्त विज्ञ वक्ताहरूले विभिन्न विषयमा सहजीकरण गर्दै मार्ग निर्देशन गरेका थिए ।

ncell

कार्यक्रममा राष्ट्रिय मानव अधिकार समिति कतारमा कार्यरत हमिद खानले कतारमा श्रमिकले साथमा राख्नुपर्ने कागजात र स्थानीय कानुनी व्यवस्थाबारे विस्तृत जानकारी दिए । 

उनले कम्पनीले श्रमिकको अनुमतिबिना राहदानी(पासपोर्ट) राखेमा हुने जरिवाना, पासपोर्ट वा कतार आइडी हराएमा प्रहरी र दूतावासको समन्वयमा कसरी नवीकरण गर्ने भन्नेबारे स्पष्ट पारे । कतार सरकारले हालै ’हेल्थ कार्ड’मा गरेको नयाँ व्यवस्थाबारे प्रस्ट पार्दै खानले सरकारी निकायको नाममा फोन गरेर पैसा लुट्ने गिरोह सक्रिय रहेकाले सचेत रहन आग्रह गरे । उनले आफ्ना निजी कागजात सामाजिक सञ्जालमा सेयर नगर्न, ओटिपी कसैलाई नदिन र ’मेट्रास–२’ एपको सही प्रयोग गर्न सिकाए । साथै, लगातार सात दिनसम्म ड्युटीमा अनुपस्थित भएमा स्पोन्सर वा कम्पनीले ‘रनअवे केस’ दर्ता गर्न सक्ने हुँदा कतारको कानुन अक्षरशः पालना गर्न उनले सुझाव दिए ।

यसैगरी दूतावासकी श्रम काउन्सिलर सीता दुवाडीले वैदेशिक रोजगारका विविध पक्षहरू र सामाजिक सुरक्षा परिचय विषयमा प्रकाश पारिन् । श्रम स्वीकृतिको अनिवार्यता बुझाउँदै उनले यसले विदेश जाने नागरिकको सही अभिलेखीकरण र तथ्यांक व्यवस्थापनमा मद्दत पुग्ने र सूचीकृत श्रमिकले मात्र सरकारबाट प्राप्त हुने सेवा–सुविधा पाउने स्पष्ट पारिन् । पुनःश्रम स्वीकृतिका लागि अब भौतिक रूपमा धाइराख्नु नपर्ने र प्रविधिको प्रयोग गरी सहजै अनलाइन सेवा लिन सकिने कुरामा उनले जोड दिइन् ।

कार्यक्रममा दूतावासकी द्वितीय सचिव स्मारिका सुवेदीले राहदानीको महत्व, प्रकार, फारम भर्ने तरिका र दूतावासबाट प्रवाह हुने कन्सुलर सेवाहरूबारे विस्तृत जानकारी दिइन् । ३२ र ६६ पानाका साधारण राहदानी बनाउँदा लाग्ने नियमित शुल्क तथा राहदानी हराएमा वा बिग्रिएमा लाग्ने दस्तुरबारे बुझाउँदै उनले नागरिकताको प्रतिलिपि नभएको खण्डमा दूतावासले सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी प्रमाणीकरण गर्ने जानकारी दिइन् । सुवेदीले वृत्तचित्रमार्फत राहदानीको अनलाइन फारम भर्ने तरिका सिकाउँदै दूतावासबाट प्रदान गरिने कागजात प्रमाणीकरण, जन्म दर्ता, एकतर्फी यात्रा अनुमति पत्र, अधिकृत वारेसनामा र गैरआवासीय नेपाली परिचयपत्र लगायतका सेवाहरूबारे पनि प्रकाश पारिन् । 

वित्तीय साक्षरताका विषयमा बोल्दै हिमालयन बैंकका कतार प्रतिनिधि बेनुप्रसाद तिम्सिनाले वैधानिक च्यानलबाट मात्र नेपालमा रेमिटेन्स पठाउन आग्रह गरे । कतारबाट मात्रै वार्षिक रूपमा करिब १ खर्ब ५० अर्ब रुपैयाँ रेमिटेन्स नेपाल भित्रिने जानकारी दिँदै उनले नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक, एक्सचेन्ज कम्पनी वा डिजिटल वालेटको प्रयोग नै सुरक्षित माध्यम भएको बताए । हुन्डीजस्ता अवैध माध्यमबाट पैसा पठाउँदा कानुनी र वित्तीय जोखिम हुने भन्दै उनले बैंकिङ च्यानल प्रयोग गर्दा धितो पत्र निष्कासन (आईपिओ) मा १० प्रतिशत आरक्षण र रेमिटेन्स खातामा उच्च ब्याजदरको लाभ मिल्ने बताए । उनले कतारमा रहेका सम्पूर्ण नेपालीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध हुन समेत अपिल गरे । 

स्वास्थ्य र सुरक्षाका विषयमा अर्का प्रशिक्षक विमल सुवेदीले कार्यस्थल वा कोठामा कोही अचानक बिरामी भएमा वा दुर्घटनामा परेमा गरिने प्राथमिक उपचारबारे व्यावहारिक ज्ञान दिए । दैनिक जीवनमा घाँटीमा हड्डी वा काँडा अड्किने जस्ता संवेदनशील अवस्थामा कसरी प्राविधिक रूपमा त्यसलाई बाहिर निकाल्ने र बिरामीको ज्यान जोगाउने भन्नेबारे उनले प्रयोगात्मक विधिबाट बुझाए । कतारको ट्राफिक नियम र सुरक्षा निर्देशिका पालना गर्दै सडक वा कार्यस्थलमा हुने दुर्घटनाका घाइतेलाई कसरी सुरक्षित स्थानमा स्थानान्तरण गर्ने र अस्पताल पुर्‍याउनु अगावै कसरी ठुलो जोखिम टार्ने भन्ने विषयमा उनले विशेष जोड दिए ।

योग साधिका श्रद्धा कटुवालले सहभागीहरूलाई सामान्य रूपमा बसेर गर्न सकिने विभिन्न योग अभ्यासहरू सिकाएकी थिइन् । उनले योगको सही विधि, दैनिक जीवनमा यसको प्रयोग तथा शारीरिक र मानसिक स्वास्थ्यमा योगले पुर्‍याउने सकारात्मक प्रभावबारे जानकारी दिएकी थिइन् । साथै, नियमित योग अभ्यासले तनाव कम गर्न, शरीरलाई स्वस्थ राख्न र मनलाई शान्त बनाउन सहयोग पुग्ने विषयमा समेत उनले प्रशिक्षण प्रदान गरेकी थिइन् । 

दूतावासका अधिकारी प्रेम पोखरेलले सहजीकरण गरेको उक्त कार्यक्रमको समापन गर्दै कार्यवाहक राजदूतकुमार राईले दूतावासको निमन्त्रणालाई स्वीकार गरी कार्यक्रम भव्य रूपमा सफल बनाइदिने सम्पूर्ण सहभागी तथा विज्ञहरूमा धन्यवाद एवं कृतज्ञता व्यक्त गरे । कार्यक्रममा प्रत्येक सत्रपछि प्रश्नोत्तर शृंखला राखिएको थियो, जहाँ सही जवाफ दिने सहभागीहरूलाई आकर्षक पुरस्कार प्रदान गरिएको थियो । प्रशिक्षकहरूको आकर्षक र प्रभावकारी प्रस्तुतीकरणका कारण कार्यक्रम निकै रोचक बनेको थियो । 

कार्यक्रममा सहभागी सुमित्रा परियारले आफूले प्रशिक्षणका क्रममा सिकेका मुख्य विषयवस्तुहरूको संक्षिप्त रूपमा समीक्षा गर्दै योग, स्वास्थ्य सचेतना तथा सकारात्मक जीवन शैलीसम्बन्धी ज्ञान आफूले प्राप्त गरेको बताइन्। उनले कार्यक्रममा सिकेका उपयोगी कुराहरू अन्य महिलाहरूसम्म पनि पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्दै यस्तो ज्ञानमूलक कार्यक्रम आयोजना गरेकोमा आयोजकप्रति धन्यवाद ज्ञापन गरिन् । 

त्यसैगरी कार्यक्रममा सहभागी अन्य महिला व्यक्तित्वहरूले समेत कार्यक्रमबाट आफूहरू लाभान्वित भएको प्रतिक्रिया दिएका थिए । उनीहरूले महिलाहरूको स्वास्थ्य, आत्मविश्वास र सचेतना अभिवृद्धिमा यस्ता कार्यक्रम प्रभावकारी हुने उल्लेख गर्दै कार्यक्रम अत्यन्त उपयोगी र प्रेरणादायी लागेको प्रतिक्रिया मध्यान्ह दैनिकलाई दिएका थिए । सन् २००५ मा नेपाल र कतारबीच द्विपक्षीय श्रम सम्झौता भएयता हाल कतारमा करिब ३ लाख ५० हजार नेपालीहरू विभिन्न पेसा र व्यवसायमा आबद्ध रहेका छन् ।

ताजा खबर

सम्बन्धित खबर