
दोहा, कतार : गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसिसी) कतारको खेलकुद विभागसँगको सहकार्यमा मोना कतार खेलकुद विभागद्वारा आयोजित 'पाँचौं मोना भलिबल कप– २०२६' को सेमिफाइनल समीकरण पूरा भएको छ । इस्लाम धर्मावलम्बीहरूको महान् चाड इद-उल-अज्हा (बकर इद) र नेपाली नयाँ वर्ष २०८३ को पावन अवसरमा आयोजित यस प्रतियोगिताको फाइनल यात्राका लागि चार उत्कृष्ट टोलीहरू आमनेसामने हुने भएका छन् ।
खेल संयोजक कृष्ण पटेलले प्रतियोगिताको पहिलो सेमिफाइनल खेल युथ क्लब र तनहुँबिच तथा दोस्रो सेमिफाइनल खेल आयोजक मोना कतार र उमसलालबीच हुने निश्चित भएको मध्यान्ह दैनिकलाई जानकारी दिए । सेमिफाइनलका दुवै विजेता टोलीहरू प्रथम र द्वितीय स्थान अर्थात् उपाधिका लागि फाइनलमा भिड्नेछन् भने उपविजेता बनेका दुई टोलीहरूले तृतीय र सान्त्वना स्थानका लागि प्रतिस्पर्धा गर्ने खेल संयोजक पटेलले बताए ।
प्रतियोगिताको फाइनल खेल जितेर उपाधि चुम्ने प्रथम टोलीले ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद ४ हजार कतारी रियाल प्राप्त गर्नेछ । यसैगरी द्वितीय स्थान हासिल गर्ने टोलीले २५ सय कतारी रियाल, तृतीय हुनेले १४ सय कतारी रियाल र सान्त्वना पुरस्कार स्वरूप चौथो हुने टोलीले ५०० कतारी रियालका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। नगद पुरस्कारका साथै खेलाडीहरूको व्यक्तिगत कौशल र उत्कृष्ट प्रदर्शनको उच्च कदर गर्दै विभिन्न विधागत पुरस्कारहरूको समेत व्यवस्था गरिएको छ। प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरूलाई वेस्ट प्लेयर, वेस्ट स्पाइकर, वेस्ट डिफेन्स, वेस्ट ब्लकर, वेस्ट लिफ्टर र वेस्ट सर्भरको विधाबाट सम्मानित गरिने आयोजकले जनाएको छ।
यो प्रतीक्षित र रोमाञ्चक खेल आगामी ५ जुन २०२६, शुक्रबार बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म कतार एकेडेमीको हल, अलखोरमा सञ्चालन हुनेछ। आयोजक कमिटीले अनुशासित खेल प्रदर्शन र समयको पूर्ण पालनाका लागि विशेष आग्रह गरेको छ। खेलका लागि तोकिएको समयमा मैदानमा उपस्थित नभएमा सम्बन्धित टिमलाई स्वतः 'वाक ओभर' दिइने नियम समेत आयोजकले स्पष्ट पारेको छ। प्रतियोगितालाई भव्य रूपमा सम्पन्न गर्नका लागि रोयल नेपाल युथ एसोसिएसन कतारले विशेष सहयोगीको भूमिका निर्वाह गरिरहेको छ।
कतारमा रहेका नेपाली खेल प्रेमीहरू माझ यस प्रतियोगितालाई निकै चासो र उत्साहका साथ हेरिएको छ। प्रतियोगितालाई भव्य र ऐतिहासिक रूपमा सम्पन्न गर्नका लागि मोना कतारका अध्यक्ष बाबुराम भण्डारीले विशेष आग्रह गरेका छन् । अध्यक्ष भण्डारीले कतारमा क्रियाशील विभिन्न वैचारिक, सामाजिक, क्षेत्रीय तथा जातीय सङ्घ-संस्थाका प्रमुख, प्रतिनिधि, भद्र भलाद्मी, बुद्धिजीवी, सञ्चारकर्मी तथा सम्पूर्ण खेल प्रेमी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा गरिमामय उपस्थितिका लागि निमन्त्रणा समेत गरेका छन् l
गत हप्ताको मंगलबार साँझ सनैयाको ५२ नम्बरको खुल्ला ग्राउन्डमा प्रतियोगिताको समुधघाटन गरिएको थियो भने कुल २९ टिम प्रतियोगितामा सहभागी भएका थिए l समुद्घाटन सत्रमा मोना कतारका अध्यक्ष बाबुराम भण्डारीको सभाध्यक्षता तथा एनसीसी कतारका अध्यक्ष कृष्ण पन्थीको प्रमुख आतिथ्यता रहेको थियो l