
काठमाडौं : दक्षिण अफ्रिकास्थित नेपाली राजदूतावासले प्रजातान्त्रिक गणतन्त्र कंगो (डिआर कंगो) मा कूटनीतिक सक्रियता विस्तार गर्दै त्यहाँ रहेका नेपाली समुदाय, श्रमिक तथा सरकारी निकायसँग संवाद र सहकार्यलाई तीव्र बनाएको छ ।
हाल दक्षिण अफ्रिकामा रहेको नेपाली राजदूतावासले डिआर कंगोका लागि समेत समवर्ती मान्यता प्राप्त गरेको छ । यही क्रममा राजदूतावास र गैरआवासीय नेपाली संघ (एनआरएनए) कंगोको संयुक्त आयोजनामा कंगोका लुबुम्बाशी र किन्शासा शहरमा नेपाल प्रवर्द्धन, व्यापार विस्तार, पर्यटन विकास तथा लगानी आकर्षणका विषयमा विभिन्न कार्यक्रम सम्पन्न भएका छन् ।
एनआरएनएका अनुसार कार्यक्रमअन्तर्गत नेपाल र कंगोबीच आर्थिक तथा व्यावसायिक सम्बन्ध विस्तारका सम्भावनाबारे छलफल हुनुका साथै कूटनीतिक, व्यावसायिक तथा औपचारिक भेटघाटसमेत भएका थिए । कार्यक्रममा नेपालका पर्यटन, लगानी तथा व्यापारिक अवसरहरूबारे जानकारी गराइएको थियो ।
कार्यक्रमका क्रममा कार्यवाहक राजदूत रमेशकुमार चर्मकारले कंगोका विभिन्न सरकारी उच्च अधिकारीसँग भेटवार्ता गरेका थिए । उनले त्यहाँ सञ्चालित खानी उद्योग तथा विभिन्न कम्पनीहरूको अवलोकन गर्नुका साथै सम्बन्धित कम्पनीका अध्यक्ष तथा उच्च व्यवस्थापनसँग पनि औपचारिक छलफल गरेका थिए ।
यसै क्रममा सोमिका ग्रुपअन्तर्गत सञ्चालित उद्योग तथा खानी क्षेत्रको समेत भ्रमण गरिएको थियो । भ्रमणका अवसरमा कम्पनीका नेतृत्वसँग नेपाली श्रमिकहरूको अवस्था, सुरक्षा, कार्यस्थलको वातावरण, श्रम व्यवस्थापन र आपसी सहकार्यका विविध पक्षबारे विस्तृत छलफल भएको बताइएको छ ।
छलफलका क्रममा कम्पनी पक्षले नेपाल सरकारले लगानीमैत्री वातावरण सिर्जना गरेमा नेपालमा समेत लगानी गर्न इच्छुक रहेको धारणा व्यक्त गरेको जनाइएको छ । यसलाई नेपालमा विदेशी लगानी भित्र्याउने सम्भावनाका रूपमा हेरिएको छ ।
भेटघाटका क्रममा कंगोमा कार्यरत नेपालीहरूको रोजगारी, सुरक्षा, बसोबास, कानुनी तथा प्रशासनिक प्रक्रिया लगायतका विषयमा समेत विस्तृत जानकारी आदानप्रदान गरिएको थियो । नेपाली समुदायसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूले भोगिरहेका समस्या, चुनौती तथा अवसरबारे जानकारी संकलन गरिएको जनाइएको छ ।
राजदूतावासले सम्बन्धित कम्पनी तथा सरोकारवाला निकायबाट नेपाली श्रमिकहरूको वर्तमान अवस्था, आवश्यकताहरू तथा सुधारका सम्भावित उपायबारे समेत प्रत्यक्ष जानकारी लिएको जनाएको छ । यसले भविष्यमा श्रमिक हितका विषयमा प्रभावकारी पहल गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
एनआरएनएले सम्भवतः डीआर कंगोमा नेपाल सरकारको तर्फबाट उद्योग, खानी क्षेत्र तथा नेपाली श्रमिकको अवस्थाबारे यति व्यापक रूपमा स्थलगत अध्ययन, अवलोकन र उच्चस्तरीय भेटघाट गर्ने कार्यवाहक राजदूत चर्मकार पहिलो नेपाली सरकारी प्रतिनिधि भएको उल्लेख गरेको छ ।
कार्यक्रम तथा भेटघाटबाट नेपाल र प्रजातान्त्रिक गणतन्त्र कंगोबीच व्यापार, पर्यटन, लगानी, वैदेशिक रोजगारी तथा श्रम कूटनीतिका क्षेत्रमा सहकार्य थप विस्तार हुने विश्वास व्यक्त गरिएको छ । साथै कंगोमा रहेका नेपालीहरूको समस्या, आवश्यकता र सम्भावनालाई नेपाल सरकारसमक्ष प्रभावकारी रूपमा पुर्याउने वातावरणसमेत निर्माण भएको कार्यवाहक राजदूत चर्मकारले बताएका छन् ।