२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

पोर्चुगलमा मनाइयो ७३औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस

Nada
भरत प्रधान
२०८३ जेठ १९ गते २१:१२
Shares
पोर्चुगलमा मनाइयो ७३औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस

लिस्बन : युरोपेली मुलुक पोर्चुगलमा पनि ७३ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइएको छ ।

ncell

पोर्चुगलस्थित नेपाली दूतावासको आयोजनामा  राजधानी लिस्बनमा विशेष कार्यक्रमका साथ ७३ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइएको हो । सो अवसरमा बोल्दै पोर्चुगलका लागि नेपालका राजदूत प्रकाशमणि पौडेलले सगरमाथाका प्रथम आरोही तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीको उपलब्धिको चर्चा गर्दै उक्त उपलब्धिलाई मानवजातिले प्रदर्शन गरेको साहस, सहनशीलता र दृढताको प्रतीकका रूपमा उल्लेख गरे । उनले हिमालय क्षेत्रको पर्यावरण संरक्षण गर्दै भावी पुस्ताका लागि यसको महत्व जोगाइराख्नुपर्नेमा जोड दिए । 

पोर्चुगिज पर्वतारोही ज्वाओ गार्सियाले सगरमाथासहितका हिमाल आरोहणको अनुभव सुनाउँदै नेपालीहरूको आतिथ्य सत्कारको प्रशंसा गरे । अतिरिक्त अक्सिजनको प्रयोग नगरी विश्वका १४ वटा सर्वोच्च हिमालको सफल आरोहण गरिसकेका छन् । 

सगरमाथा आरोही गार्सियालाई राजदूत पौडेलले ढाका टोपी, खादा र मायाको चिनोले सम्मान गरेका थिए । 

सो अवसरमा नेपालको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले नेपालको पर्वतारोहणको इतिहास तथा प्राकृतिक एवं सांस्कृतिक सम्पदासम्बन्धी भिडियो समेत प्रदर्शन गरिएको थियोे । साथै, पोर्चुगलमा रहेका नेपाली कलाकारहरूले सांगीतिक प्रस्तुति दिएका थिए ।

कार्यक्रममा पोर्चुगलको परराष्ट्र मन्त्रालय तथा अन्य सरकारी निकायका अधिकारीहरू, विभिन्न देशका राजदूत तथा कूटनीतिज्ञहरू, पर्यटन तथा व्यवसाय क्षेत्रका प्रतिनिधिहरू तथा नेपाली समुदायको सहभागिता रहेको दूतावासले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर