२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

नेपाली जनप्रगतिशील मञ्च साउदीद्वारा गणतन्त्र दिवस तथा ईद विशेष कार्यक्रम सम्पन्न

Nada
२०८३ जेठ १८ गते २१:२९
Shares
नेपाली जनप्रगतिशील मञ्च साउदीद्वारा गणतन्त्र दिवस तथा ईद विशेष कार्यक्रम सम्पन्न

साउदी अरब : नेपाली जनप्रगतिशील मञ्च, साउदी अरेबिया राष्ट्रिय समितिको आयोजनामा गणतन्त्र दिवस तथा ईदको अवसर पारेर २०२६ मे २८ (२०८३ जेठ १४ गते बिहीबार) रियादको एक्जिट–१८ मा ‘भेटघाट, सचेतनामूलक अन्तरक्रिया एवं प्रशिक्षण कार्यक्रम’भव्य रूपमा सम्पन्न भएको छ ।

ncell

बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन भएको उक्त कार्यक्रम साउदी अरबमा रहेका नेपाली समुदायबीच आपसी भाइचारा, एकता, चेतना तथा संगठनात्मक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यका साथ आयोजना गरिएको थियो । 

कार्यक्रममा रियाद, दमाम, जुबैल, हेल, अल–कासिम, हफर अल–बातिनलगायत विभिन्न क्षेत्रबाट नेपाली समुदायको उल्लेखनीय सहभागिता रहेको थियो । 

कार्यक्रमको अध्यक्षता नेपाली जनप्रगतिशील मञ्च, साउदी अरेबिया राष्ट्रिय समितिका अध्यक्ष रामचन्द्र वाग्लेले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा कमल शाही उपस्थित थिए । त्यसैगरी विशेष अतिथिहरूमा बिमल गौतम, आरबी लामा, नवराज चौलागाईं तथा युवराज कार्कीको उपस्थिति रहेको थियो । 

महासचिव बासुदेव सापकोटाले कार्यक्रम सञ्चालन गर्दै यसको उद्देश्य, महत्व तथा समग्र कार्यक्रमबारे जानकारी गराएका थिए । राष्ट्रिय गान तथा मौनधारणबाट सुरु भएको कार्यक्रममा उपाध्यक्ष हरि बहादुर बुढाथोकीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । साथै विभिन्न क्षेत्रीय अध्यक्षहरूले आ–आफ्नो क्षेत्रगत प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रमको प्रमुख आकर्षण मानसिक स्वास्थ्य तथा तनाव व्यवस्थापन सम्बन्धी प्रशिक्षण रह्यो । महासचिव सापकोटाले वैदेशिक रोजगारीका क्रममा नेपाली श्रमिकहरूले भोग्ने तनाव, एक्लोपन, चिन्ता, निद्रा समस्या तथा भावनात्मक दबाबका विषयमा प्रशिक्षण दिएका थिए । मानसिक रूपमा स्वस्थ रहन साथीभाइसँग अनुभव आदान–प्रदान गर्ने, समूहगत छलफलमा सहभागी हुने तथा आवश्यक परे सहयोग लिन हिच्किचाउन नहुने सन्देश उनले दिए । सहभागीहरूलाई समूह कार्यशालामार्फत तनाव व्यवस्थापनका व्यावहारिक उपायहरूको अभ्याससमेत गराइएको थियो । 

त्यसैगरी वित्तीय साक्षरता तथा भविष्य योजना विषयक प्रशिक्षण कार्यक्रममा कुमारी बैंकका प्रतिनिधि आरबी लामाले सहजीकरण गरेका थिए । प्रशिक्षणमा आईपीओ, डिम्याट, एसआईपी, बचत, लगानी, सामाजिक सुरक्षा कोष तथा दीर्घकालीन आर्थिक योजनाबारे विस्तृत जानकारी प्रदान गरिएको थियो । वैदेशिक रोजगारीबाट आर्जित आम्दानीलाई सही व्यवस्थापन गरी भविष्य सुरक्षित बनाउनुपर्ने विषयमा सहभागीहरूलाई सचेत गराइएको थियो ।

नेतृत्व विकास तथा व्यक्तित्व निर्माण सम्बन्धी प्रशिक्षणमा महासचिव सापकोटाले आत्मविश्वास, अनुशासन, जिम्मेवारी, समय व्यवस्थापन तथा संस्थागत नेतृत्वको महत्वबारे प्रकाश पारे । साथै साउदी अरबमा रहेका नेपाली युवाहरूले सीप विकास, दक्षता अभिवृद्धि तथा विभिन्न व्यावसायिक प्रमाणपत्र हासिल गरी भविष्यका अवसरहरू सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याए । 

कार्यक्रममा राजनीतिक तथा सामाजिक चेतनासम्बन्धी सत्र पनि सञ्चालन गरिएको थियो । विशेष अतिथि बिमल गौतमले नेपालको समसामयिक राजनीतिक अवस्था तथा सामाजिक रूपान्तरणका विषयमा धारणा राखेका थिए भने प्रमुख अतिथि कमल शाहीले नेपाली जनप्रगतिशील मञ्चको भूमिका, उद्देश्य तथा नेपाली समुदायलाई संगठित बनाउने अभियानबारे विचार व्यक्त गरेका थिए । 

खुला अन्तरक्रिया सत्रमा सहभागीहरूले वैदेशिक जीवनका चुनौती, श्रमिक समस्या, मानसिक स्वास्थ्य, सामाजिक सम्बन्ध तथा भविष्य निर्माणका विषयमा आफ्ना अनुभव र धारणा खुलेर राखेका थिए । प्रश्न–उत्तर तथा अनुभव आदान–प्रदानले कार्यक्रमलाई थप प्रभावकारी बनाएको सहभागीहरूले बताएका छन् । 

आयोजकका अनुसार कार्यक्रमको मुख्य उद्देश्य मानसिक स्वास्थ्य तथा तनाव व्यवस्थापन, नेतृत्व विकास, वित्तीय साक्षरता, सामाजिक तथा राजनीतिक चेतना, डिजिटल सचेतना, आत्मनिर्भरता, सीप विकास तथा नेपाली समुदायबीच एकता र भाइचाराको भावना सुदृढ गर्नु रहेको थियो । 

कार्यक्रमको सफलतामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने अतिथिहरू, प्रशिक्षकहरू, स्वयंसेवकहरू तथा सहभागी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीप्रति नेपाली जनप्रगतिशील मञ्च, साउदी अरेबिया राष्ट्रिय समितिले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ ।

विभिन्न क्षेत्रबाट समय निकालेर कार्यक्रममा सहभागी भएका नेपालीहरूको उत्साहजनक उपस्थितिले समुदायबीच आत्मीयता, भाइचारा, चेतना तथा संगठनात्मक सम्बन्धलाई थप बलियो बनाएको आयोजकको विश्वास रहेको छ ।

ताजा खबर

सम्बन्धित खबर