२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

ढकाललाई गण्डकी प्रदेश समन्वय परिषद्‍द्वारा बिदाइ

Nada
तिलु शर्मा पौडेल
२०८३ जेठ १६ गते १९:४२
Shares
ढकाललाई गण्डकी प्रदेश समन्वय परिषद्‍द्वारा बिदाइ

दोहा, कतार : गण्डकी प्रदेश समन्वय परिषद् कतारले आफ्ना संस्थापक एवं वर्तमान कार्यसमितिका संरक्षक हंसराज ढकाललाई एक विशेष समारोहका बीच बिदाइ गरेको छ । करिब ३ दशक लामो कतार बसाइलाई बिट मार्दै सदाका लागि स्वदेश फर्किन लागेका ढकाललाई शुक्रवार साँझ सनैयास्थित ग्राण्ड मलमा रहेको संम्सारा थकाली रेस्टुरेन्टको सभा हलमा आयोजित 'स्नेह मिलन तथा बिदाइ कार्यक्रम' मार्फत बिदाइ गरिएको हो ।

ncell

परिषद्ले ढकाललाई सम्मान पत्र तथा मायाको चिनो प्रदान गर्नुका साथै दोसल्ला ओढाएर सम्मानसहित बिदाइ गरेको छ । सोही अवसरमा स्याङ्जा सहयोग समाज कतारका तर्फबाट पनि ढकाललाई संस्थागत बिदाइ गरिएको थियो । यसैगरी लमजुङ सेवा समाज कतारका उपाध्यक्ष कल्याण थापाले वैचारिक आस्थावान् व्यक्तित्व ढकाललाई नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीद्वारा लिखित पुस्तक उपहारस्वरूप प्रदान गरेका थिए ।

परिषद्का अध्यक्ष नन्दलाल विक 'अजय'को अध्यक्षता तथा संस्थापक अध्यक्ष आशबहादुर गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बोल्दै ढकालले आफू स्वदेशमै फर्केर केही गर्ने स्पष्ट लक्ष्यका साथ नेपाल जान लागेको बताए । वि.सं. २०४३/४४ सालदेखि नै आफ्नो राजनीतिक यात्रा सुरु भएको स्मरण गर्दै उनले भने, 'समाजमा कतिपयलाई मेरो खरो र रुखो टिप्पणी गर्ने स्वभावका कारण मनमा दया-करुणा नभएको मान्छे हो कि जस्तो भान पर्न सक्छ, तर म भित्र करुणा छ। समाजमा जहाँ गल्ती र कमजोरी देखिन्छ, त्यहाँ प्रश्न उठाउने मेरो स्वभाव नै हो ।'

उनले आफूलाई सम्मान गर्ने आयोजक परिषद् र मातहतका जिल्ला संस्थाहरूलाई धन्यवाद दिँदै आफू नेपालमा रहे पनि गण्डकी प्रदेशको हितका लागि संस्था दर्ता प्रक्रियादेखि भविष्यमा  व्यावसायिक सहकार्य गर्न सदैव तत्पर रहने विश्वास व्यक्त गरे ।

परिषद्का महासचिव मनप्रसाद राना मगरले राना मगरले सहजिकरण गरेको  कार्यक्रमको समापन गर्दै सभाध्यक्ष विकले वैदेशिक रोजगारीबाट नेपाल फर्किएका नागरिकहरूलाई स्वदेशमै लगानी गर्न सक्ने सुरक्षित र भरपर्दो वातावरण सरकारले बनाइदिनुपर्नेमा जोड दिए । त्यस्तो वातावरण बनेमा ढकाल जस्ता थुप्रै अनुभवी व्यक्तित्वहरू नेपाल फर्केर लगानी गर्ने र कतारको बसाइँलाई छोटो बनाएर स्वदेशमै उद्यमी बन्ने बाटो खुल्ने विश्वास व्यक्त गर्दै विकले ढकाललाई सुखद यात्राको शुभकामना व्यक्त गरे ।

परिषद्का वरिष्ठ उपाध्यक्ष रोशन अर्यालले स्वागत मन्तव्य राखेको कार्यक्रममा प्रदेश अन्तर्गतका सम्पूर्ण जिल्ला संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू, परिषदका सल्लाहकारहरुले ढकालको कतारमा रहेको योगदानको चर्चा गर्दै सुखद यात्राको शुभकामना व्यक्त गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर