
दोहा, कतार : नेपाली महिला समाज कतारले आफ्नो "भाग्यशाली चिट्ठा” कार्यक्रमको नतिजा सार्वजनिक गरेको छ । शुक्रबार सनैयास्थित जिम्बु थकाली रेस्टुरेन्टमा एक विशेष कार्यक्रमको आयोजना गरी चिट्ठाको नतिजा सार्वजनिक गरिएको हो। समाजको मूल कोष श्रीवृद्धिकालागि उक्त भाग्यशाली चिट्ठा कार्यक्रम सञ्चालन गरिएको थियो ।
सार्वजनिक नतिजा अनुसार प्रथम पुरस्कार (८ ग्राम सुन) चिट्ठा नम्बर २९१५ मार्फत रोल्पाली सेवा समाज कतारले हात पारेको छ । त्यस्तै द्वितीय पुरस्कार (५२ इन्चको स्मार्ट टिभी) चिट्ठा नम्बर १३६४ बाट दिया सिंहले प्राप्त गरेकी छन् भने तृतीय पुरस्कार (स्मार्टफोन) चिट्ठा नम्बर २६७ का विजय ठकुरीले जितेका छन् ।
यसैगरी, सान्त्वना पुरस्कार अन्तर्गत प्रदान गरिएको ५ थान मोबाइल क्रमशः अनिता लिम्बू/लक्सम्बा (चिट्ठा नं. २५३), विनोद गोले तामाङ (चिट्ठा नं. २४०४), शेरेना आचार्य (चिट्ठा नं. १९६५), विकास श्रेष्ठ (चिट्ठा नं. २५४४) र सरिता भण्डारी (चिट्ठा नं. १०२६) ले प्राप्त गरेका छन् ।
नेपाली महिला समाजकी अध्यक्ष माया केसीको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा समाजकी संरक्षक अमिना खानको प्रमुख आतिथ्यता रहेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि खानले नेपाली महिला समाजले पछिल्लो समय कतारमा अत्यन्तै सशक्त र उदाहरणीय कार्यहरू गरिरहेको बताइन् । आगामी अधिवेशनलाई समेत लक्षित गर्दै उनले कतारमा रहेका सम्पूर्ण चेलीबेटीहरूलाई एकजुट भई समाज सेवामा सक्रिय हुन र आफूभन्दा बढी दुःख, कष्ट एवं पीडामा परेका नेपाली चेलीहरूको उद्धार तथा सहयोगमा सधैँ तत्पर रहन विशेष आह्वान गरिन् ।
समाजकी प्रवक्ता शारदा भुजेलले सहजीकरण गरेको कार्यक्रममा तृतीय उपाध्यक्ष सुष्मा कटुवालले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रमलाई समापन गर्दै सभाध्यक्ष केसीले चिट्ठा खरिद गरी सहयोग पुर्याउने कतारस्थित विभिन्न संघ-संस्था, कार्यसमितिका सम्पूर्ण जिम्मेवार पदाधिकारी, सदस्यहरू तथा तमाम सहयोगी मनहरूप्रति धन्यवाद ज्ञापन गरेकी थिइन् । साथै उनले समाजको अधिवेशन पनि नजिकिँदै गरेको जानकारी दिँदै कतारमा क्रियाशील सम्पूर्ण नेपाली चेलीबेटीहरूलाई समाजमा आबद्ध हुन र सदस्यता ग्रहण गर्न आग्रह गरिन् ।