
दोहा, कतार : नवलपरासी सेवा समाज कतारको 'चौथो अधिवेशन तथा विविध सांस्कृतिक कार्यक्रम २०२६' खुला र बन्द सत्र गरी भव्यताका साथ सम्पन्न भएको छ । शुक्रबार कतारको ग्रान्डमलस्थित प्लाजा मलको वेलफेयर हलमा सम्पन्न अधिवेशनको दोस्रो (बन्द) सत्रबाट चन्द्रबहादुर गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।
आगामी एक कार्यकालका लागि चयन भएको नयाँ कार्यसमितिको उपाध्यक्षमा लोकप्रसाद न्यौपाने, महिला उपाध्यक्षमा कमला बस्याल भण्डारी, महासचिवमा विष्णु शाही, सचिवमा रामजी सुवेदी, कोषाध्यक्षमा मान सिङ बिक र सहकोषाध्यक्षमा मोनिका श्रेष्ठ रहेका छन् । कार्यसमितिका सदस्यहरूमा क्रमशः रुद्र प्रसाद न्यौपाने, दिपेन थापा, राजु खत्री, लक्ष्मी आचार्य, धनमाया गुरुङ र राजकुमार पन्जीयार रहेका छन् ।

अधिवेशनको पहिलो (खुला) सत्र समाजका अध्यक्ष दुर्गा हमालको सभाध्यक्षता तथा समाजका प्रमुख संरक्षक केबी हमालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । खुला सत्रमा कार्यक्रम सञ्चालक तथा समाजका महासचिव चन्द्रबहादुर गुरुङले संस्थाको दुई वर्षे कार्य प्रगति विवरण प्रस्तुत गरेका थिए । उनले प्रगति विवरण पेस गरे लगत्तै कतारमा क्रियाशील विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूले शुभकामना मन्तव्य राखेका थिए । शुभकामना मन्तव्य राख्ने वक्ताहरूले समाजले विगत दुई वर्षको अवधिमा नवलपरासी जिल्लाभित्रका विभिन्न विद्यालयहरूमा स्थापना गरेको अक्षय कोषको विशेष प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिन आग्रह गरे ।
स्वागत नृत्यसहित तमु प्ये ल्हु संघ, शाखा कतारका कलाकारहरू तथा कतारमा स्थापित अन्य थुप्रै स्थानीय कलाकारहरूले कार्यक्रममा सांगीतिक प्रस्तुति दिएका थिए । समाजले कार्यक्रममा सांगीतिक प्रस्तुति दिने सम्पूर्ण कलाकार, दुई वर्षे कार्यकालमा सञ्चारमाध्यममार्फत समाचार सम्प्रेषण गरी सहयोग पुर्याउने पत्रकारहरू, लुम्बिनी प्रदेश मातहतका सम्पूर्ण जिल्ला संस्था तथा निवर्तमान कार्यसमितिका विभिन्न पदाधिकारी एवं सम्पूर्ण सदस्यहरूलाई सम्मान पत्रद्वारा सम्मान गरेको थियो ।
सोही अवसरमा तमु प्ये ल्हुले कार्यक्रमका सभापति हमाल र गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारका अध्यक्ष कृष्ण पन्थीलाई विशेष 'केग्री फेटा' ओढाएर सम्मान गरेको थियो । नवलपरासी जिल्लाको प्रतिनिधित्व गर्दै एनआरएनए एनसिसिको अध्यक्ष पदमा निर्वाचित पन्थी र सदस्य पदमा निर्वाचित मानसिंह विकलाई समाजले विशेष सम्मान गरेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै समाजका प्रमुख सल्लाहकार समेत रहेका पन्थीले समाजको प्राथमिकता रचनात्मक र दीर्घकालीन काममा मात्र रहेको बताउँदै आफूहरूले कतारमा रहेका नेपालीहरूको सशक्तीकरण र सचेतनाका लागि मात्र काम गर्ने गरेको बताए । समाजले जिल्ला र प्रवास दुवैतर्फ स्पष्ट परिवर्तन देखिने गरी मात्र लगानी गर्ने र मनोरञ्जन वा अन्य अनुत्पादक क्षेत्रमा हुने फजुल खर्चलाई पूर्णतया निरुत्साहित गर्दै, संस्थाको कोषलाई विशुद्ध परोपकारी, जीवन्त र दूरगामी प्रभाव राख्ने सकारात्मक कार्यहरूमा मात्र सदुपयोग गर्ने गरिएको बताए ।
कार्यक्रमको उद्घाटन सत्रमा समाजले प्रमुख अतिथि हमाललाई दोसल्ला ओढाएर मायाको चिनो सहित सम्मान गरिएको थियो । हमालले आफ्नो शुभकामना मन्तव्यका क्रममा संस्थाले ८ वर्षको छोटो अन्तरालमा निकै ठुलो फड्को मारेको बताउँदै कतारमा एनआरएनएको नेतृत्व समेत जन्माइसकेको स्मरण गरे । उनले समाजमा अगाडी बढ्नका लागि कमी कमजोरीलाई सुधार्न आवश्यक रहेको धारणा राखे । हमालले समाजको संस्थापक देखी वर्तमान कार्यसमिति सम्मले गरेका कार्यको प्रशंसा गर्दै समयले दिएका कार्यभारलाई कार्यबहान गर्न सक्नेले समाज बुझ्ने बताए ।

कार्यक्रमका संयोजक तथा समाजका उपाध्यक्ष नर बहादुर थापाले स्वागत मन्तव्य राख्दै नवलपरासी जिल्लाको संक्षिप्त परिचय र भौगोलिक विशेषताका बारेमा प्रकाश पारेका थिए ।अधिवेशनको खुल्ला सत्रको समापन गर्दै सभाध्यक्ष हमालले आफ्नो कार्यकालभरि संस्थालाई उदाहरणीय र गतिलो नेतृत्व दिने अधिकतम प्रयास गरेको बताए । उनले आफ्नो कार्यसमितिको कार्यकाल सफलतापूर्वक सम्पन्न हुनुमा कार्यसमितिको मात्र नभई सिंगो कतारस्थित नेपाली समाज, नवलपरासी जिल्लाका अग्रज, संस्थापक, कलाकार, पत्रकार, साहित्यकार, बुद्धिजीवी तथा विभिन्न सामाजिक व्यक्तित्वहरूको अथाह साथ र सहयोग रहेको उल्लेख गरे । सबैको सामूहिक प्रयास र सद्भावकै कारण आफ्नो कार्यकाल सफल भएको महसुस गर्दै अध्यक्ष हमालले सम्पूर्ण सहयोगी हातहरूप्रति हार्दिक आभार तथा धन्यवाद ज्ञापन गरेका थिए ।