२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

जुबेलमा दुईदिने राहदानी अस्थायी शिविर सम्पन्न, १४ सय बढी लाभान्वित

Nada
अन्जान गुभाजु
२०८३ जेठ १५ गते २०:५२
Shares
जुबेलमा दुईदिने राहदानी अस्थायी शिविर सम्पन्न, १४ सय बढी लाभान्वित

दम्माम, साउदी अरेबिया : साउदी अरेबियाको पूर्वी प्रान्त जुबेलमा आयोजित दुईदिने राहदानी अस्थायी शिविर, श्रमिक सचेतना तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् साउदी अरबको सहकार्य तथा नेपाली राजदूतावास रियादको आयोजनामा मे २२ र २३ तारिख उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।

ncell

कार्यक्रमअन्तर्गत ५०८ जनाको विद्युतीय राहदानी (ई–पासपोर्ट) अनलाइन फारम संकलन गरिएको थियो भने ८९६ जनालाई नवीकृत राहदानी वितरण गरिएको आयोजकले जनाएको छ । साथै ४ जनालाई ट्राभल डकुमेन्ट, २ जनालाई बैंक ग्यारेन्टी, ७४ जनाको एग्जिट भिसा प्रक्रिया तथा १ जना महिलाको उद्धारसमेत गरिएको थियो । यसरी उक्त शिविरबाट कुल १ हजार ४ सय ८५ जना सेवाग्राहीले प्रत्यक्ष सेवा प्राप्त गरेका छन् ।

No description available.

शिविरसँगै आयोजना गरिएको श्रमिक सचेतना कार्यक्रममा श्रम काउन्सलर कविराज उप्रेतीले साउदी अरबमा कार्यरत नेपाली श्रमिकले पालना गर्नुपर्ने कानुन, श्रमिक अधिकार, समस्या पर्दा सम्पर्क गर्नुपर्ने निकाय तथा नेपाल सरकारले लागू गरेका वैदेशिक रोजगारसम्बन्धी नीति–नियमबारे जानकारी दिएका थिए । त्यसैगरी एनआरएनए साउदी अरबका अध्यक्ष उमेश भट्टराईले समसामयिक विषयमा धारणा राखेका थिए भने ग्लोबल आइएमई बैंकका कन्ट्री हेड ऋषिकेश अधिकारीले वित्तीय साक्षरताबारे सहजीकरण गरेका थिए ।

कार्यक्रममा नेपाली राजदूतावास रियादका द्वितीय सचिव अम्बरबहादुर नेपालीको नेतृत्वमा प्रथम सचिव टिकाराम शर्मा, श्रम काउन्सेलर कविराज उप्रेती, तृतीय सचिव कमल कुँवर, पर्यटन दूत तथा एनआरएनए आइसिसी उपमहासचिव राजेन्द्र अर्याल लगायत विभिन्न सामाजिक, राजनीतिक तथा व्यावसायिक संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

शिविर सञ्चालनका लागि विभिन्न सामाजिक तथा राजनीतिक संघ–संस्थाले स्वयंसेवक परिचालन तथा व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । एनआरएनए साउदी अरबका अध्यक्ष उमेश भट्टराईको नेतृत्वमा महासचिव शुक्र मोक्तान, उपाध्यक्ष विष्णु प्रसाद भण्डारी, युवा संयोजक पदम महत लगायत विभिन्न संस्थाका प्रतिनिधिहरूले सेवाग्राहीको सहजीकरणमा सक्रिय भूमिका खेलेका थिए ।

यस शिविरलाई सफल बनाउन हल उपलब्ध गराएर सहयोग गर्ने सार्क एसियन रेस्टुरेन्ट परिवारप्रति आयोजकले विशेष धन्यवाद व्यक्त गरेको छ । प्रत्यक्ष तथा परोक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण स्वयंसेवक, सामाजिक अभियन्ता तथा संघसंस्थाप्रति पनि आयोजकले आभार प्रकट गरेको छ ।

कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा एनआरएनए साउदी अरबले नेपाली दूतावास रियादप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता श्रमिकमैत्री सेवा शिविरलाई निरन्तरता दिन अनुरोध गरेको छ ।

No description available.

ताजा खबर

सम्बन्धित खबर