२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

दोहास्थित नेपाली दूतावासमा मनाइयो गणतन्त्र दिवस

Nada
तिलु शर्मा पौडेल
२०८३ जेठ १५ गते १६:१४
Shares
दोहास्थित नेपाली दूतावासमा मनाइयो गणतन्त्र दिवस

दोहा, कतार : कतारको दोहास्थित नेपाली राजदूतावासको आयोजनामा १९औं गणतन्त्र दिवस एक विशेष समारोहका बीच भव्य रूपमा मनाइएको छ । शुक्रबार राजदूतावासको सभा हलमा आयोजित उक्त विशेष कार्यक्रममा कतारस्थित विभिन्न नेपाली वैचारिक संघ-संस्थाका प्रतिनिधिहरू तथा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको संस्थागत उपस्थिति रहेको थियो ।

ncell

बिहान ठिक ९ बजे नेपालको राष्ट्रिय गान बजाएर निर्धारित समयमै औपचारिक रूपमा सुरु भएको कार्यक्रममा कतारमा क्रियाशील प्रमुख वैचारिक संस्थाका नेतृत्वकर्ता तथा प्रतिनिधिहरूले गणतन्त्र दिवसको अवसरमा शुभकामना मन्तव्यसहित आफ्ना गहन विचारहरू राखेका थिए ।

कार्यक्रममा श्रम संस्कृति महाअभियान कतारका अध्यक्ष शुक्र कुमार राई (सुवास)ले गणतन्त्र दिवसको अवसरमा संक्षिप्त शुभकामना मन्तव्य राखेका थिए । त्यस्तै, नेपाली जनप्रगतिशील मञ्च कतारका कार्यवाहक अध्यक्ष विकास गैरेले गणतन्त्र प्राप्तिका लागि भएका ऐतिहासिक राजनीतिक आन्दोलनहरूको स्मरण गर्दै प्राप्त उपलब्धिहरूको रक्षा र संस्थागत विकासका लागि सबै सदैव सजग रहनुपर्नेमा जोड दिए ।

प्रवासी नेपाली एकता मञ्च कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले दोहामा वैचारिक संगठनहरूले आयोजना गर्ने कार्यक्रमहरूमा दूतावासको सहभागिता नहुने गरेकोमा दुःख व्यक्त गर्दै आगामी दिनमा सहभागी भइदिन आग्रह गरे। साथै, देशका पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल कतार भ्रमणमा आउँदा दूतावासले उचित वास्ता नगरेको प्रसङ्ग कोट्याउँदै गणतन्त्र दिवसमा भने वैचारिक सङ्गठनहरूलाई सम्झिएको भनी घुमाउरो शैलीमा कटाक्ष गरे ।

प्रवासी नेपाली मञ्च कतारका अध्यक्ष चूडामणि कार्कीले हल खाली रहेको प्रति लक्षित गर्दै सबैलाई समेटेर बढीभन्दा बढी सहभागिताबिच दिवस मनाउनु उत्तम हुने विचार राखेका थिए । उनले १९ औँ गणतन्त्र दिवस मनाउँदै गर्दा विगतमा देशमा भएका विध्वंस र राज्यलाई भएको क्षतिलाई बिर्सन नहुने र त्यस्ता कार्यहरू गलत भएको टिप्पणी गरे ।

यसैगरी, नेपाली जनसम्पर्क समिति कतारका सभापति मोहम्मद अजिज अलिले लोकतन्त्र र गणतन्त्र कस्तो जगमा प्राप्त भएको हो भन्ने कुरा वर्तमान पुस्ताले प्रत्यक्ष भोगेको उल्लेख गरे । देशका "नबोल्ने" प्रधानमन्त्रीले समेत यही गणतन्त्रकै जगमा पद प्राप्त गरेको स्मरण गराउँदै उनले नेपालको गणतन्त्रभित्र पूर्व राजा र तिनका समर्थक पनि अटाउने वातावरण रहेको  र दूतावासले गणतन्त्र दिवसमा अझ व्यापक र फराकिलो उपस्थिति गराउन नसकेको भन्दै सचेत गराए ।

प्रवास नेपाली सम्पर्क विभाग कतारका कार्यवाहक सभापति नियम भुजेलले देशको पछिल्लो आन्दोलनको औचित्य र मर्म सबैले बुझ्नुपर्ने धारणा राखे । गणतन्त्र दिवसमा प्रधानमन्त्रीले देशवासीलाई सम्बोधन गर्ने परम्परा रहे तापनि राष्ट्रप्रमुखका हैसियतमा राष्ट्रपतिले सम्बोधन गर्दा अझ उत्कृष्ट सन्देश जाने विश्वास व्यक्त गरेका थिए । त्यस्तै, गैरआवासीय नेपाली संघ कतारका अध्यक्ष कृष्ण पन्थीले गणतन्त्रलाई विशेष रेखदेख र संरक्षण गरेर अघि बढाउनुपर्ने अवस्था आएको औंल्याए । जसरी १९ वर्षका किशोर-किशोरीलाई सम्हालेर र जोगाएर अगाडि बढाउनुपर्छ, त्यसरी नै यो व्यवस्थाको पनि रक्षा गर्न आवश्यक रहेको तर्फ उनले ध्यानाकर्षण गराए ।

कार्यक्रममा समापन मन्तव्य राख्दै राजदूतावासका कार्यवाहक राजदूत कुमार राईले २४० वर्ष लामो राजतन्त्रबाट लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरित हुने क्रममा शहादत प्राप्त गर्ने सम्पूर्ण ज्ञात-अज्ञात सहिदहरू प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै गणतन्त्र नै सर्वश्रेष्ठ व्यवस्था हो, जसले नेपाली जनतालाई वास्तविक रूपमा सार्वभौम र अधिकार सम्पन्न बनाएको धारणा राखे । ऐतिहासिक फ्रान्सेली राज्य क्रान्तिलाई गणतन्त्रको जग मानिने स्मरण गर्दै नेपालको गणतन्त्रले सबै नेपालीलाई भावनात्मक रूपमा जोड्ने काम गरेको बताए । 

राजदूत राईले गणतन्त्रलाई कसरी अझ उन्नत, सुदृढ र उदार बनाउन सकिन्छ भन्ने तर्फ वैचारिक संगठनका नेतृत्वकर्ताहरू लाग्नुपर्ने सुझाव दिए । वक्ताहरूले हल खाली रहेको भनी गरेको कटाक्षको घुमाउरो जवाफ दिँदै कार्यवाहक राजदूत राईले प्रतिप्रश्न गर्दै भने, "वैचारिक संगठनका नेतृत्वकर्ताहरूले कतारमा आफ्ना हजारौँ समर्थक रहेको दाबी गरेपनी गणतन्त्र दिवस जस्तो ऐतिहासिक राष्ट्रिय पर्वमा आफ्ना ५ जना समर्थक पनि किन कार्यक्रममा ल्याउन सक्नुभएन ?"

उनले दूतावासमाथि आरोप लगाउँदा वा गुनासाहरू राख्दा हचुवाका भरमा नभई तथ्यका आधारमा राख्न समेत सम्बद्ध पक्षलाई आग्रह गरेका थिए । गरिमामय कार्यक्रमको सञ्चालन तथा सहजीकरण दूतावासकी द्वितीय सचिव स्मारिका सुवेदीले गरेकी थिइन् ।

ताजा खबर

सम्बन्धित खबर