
दोहा, कतार : कतारमा वैदेशिक रोजगारी तथा विभिन्न पेसा र व्यवसायमा आबद्ध रहेका रौतहट जिल्लावासीहरूलाई एकत्रित गर्दै एउटै छानोमुनि ल्याउने उद्देश्यका साथ 'रौतहट सेवा समाज कतार'को तदर्थ समिति घोषणा गरिएको छ । प्लाजा मलमा रहेको सी रेस्टुरेन्टको सभा हलमा बुधबार राति आयोजित एक समारोहका बीच गैरआवासीय नेपाली संघ कतारका अध्यक्ष कृष्ण पन्थीको प्रमुख आतिथ्यतामा पन्थीले नै सो समितिको घोषणा गरेका हुन् ।
कतारमा रहेका सम्पूर्ण रौतहटवासी नेपालीहरूबीच आपसी भाइचारा, सहयोग र एकता अभिवृद्धि गर्ने पवित्र उद्देश्य बोकेर गठन गरिएको यस समितिको संयोजकमा सामाजिक व्यक्तित्व मोहम्मद इमरानलाई सर्वसम्मत रूपमा चयन गरिएको छ । समितिको संयोजकको महत्त्वपूर्ण जिम्मेवारी पाएसँगै कार्यक्रमलाई सम्बोधन गर्दै इमरानले आफूमाथि विश्वास गरेर सुम्पिएको यो जिम्मेवारीलाई पूर्ण इमानदारिताका साथ निभाउने प्रतिबद्धता व्यक्त गरे ।
कतारमा रहेका रौतहटवासीहरूको हकहित र सुख-दुःखमा संस्थाले अभिभावकको भूमिका खेल्ने बताउँदै उनले भने, "हामी आगामी केही दिनभित्रै तदर्थ समितिलाई पूर्णता दिनेछौँ र कम्तीमा दुई महिनाभित्र संस्थाको पहिलो ऐतिहासिक अधिवेशन भव्य रूपमा सम्पन्न गरेर नियमित कार्यसमिति निर्माण गर्नेछौँ ।"
कार्यक्रमका प्रमुख अतिथि एवं एनआरएनए कतारका अध्यक्ष पन्थीले नवगठित समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना प्रदान गरे । सम्बोधनका क्रममा पन्थीले यथाशक्य चाँडो तदर्थ समितिलाई विस्तार गर्दै अधिवेशनको तयारीमा जुट्न विशेष सुझाव दिए ।
रौतहट समाजलाई संस्थागत र व्यवस्थित रूपमा अगाडि बढाउनका लागि एनआरएनए कतार सधैँ साथमा रहने प्रतिबद्धता जनाउँदै अध्यक्ष पन्थीले "संस्थालाई विधिसम्मत चलाउन आवश्यक पर्ने विधान निर्माणको प्रक्रियादेखि अन्य सम्पूर्ण प्राविधिक, सांगठनिक तथा व्यावहारिक कार्यहरूमा व्यक्तिगत र एनआरएनए कतारको तर्फबाट पूर्ण सहयोग, सहजीकरण र अभिभावकत्व रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।