
मलेसिया : मलेसियाको अध्यागमन विभागले राजधानी क्षेत्र केन्द्रित कागजात जालसाजी गिरोहमाथि कारबाही गरेको छ । दुई दिनसम्म सञ्चालन गरिएको संयुक्त अपरेसनमार्फत करिब सात वर्षदेखि सक्रिय रहेको उक्त गिरोहलाई नियन्त्रणमा लिइएको हो ।
अध्यागमन विभागका महानिर्देशक दातुक जकारिया शाबानका अनुसार सार्वजनिक सूचना र सञ्चारमाध्यममा आएका रिपोर्टका आधारमा करिब ६ महिनासम्म गोप्य रूपमा संकलन गरिएको सूचनापछि यो अपरेसन अघि बढाइएको थियो । प्रारम्भिक अनुसन्धानले गिरोहले करिब १०० मिलियन मलेसियन रिंगिट बराबर आम्दानी गरेको अनुमान गरिएको छ ।
कारबाहीका क्रममा प्रहरीले ठुलो मात्रामा जालसाजीमा प्रयोग हुने सामग्री बरामद गरेको छ । जसमा ई–पास, सुरक्षा स्टिकर तथा संशोधित अध्यागमनसम्बन्धी कागजातहरू रहेका छन् । त्यसैगरी १११ वटा विभिन्न देशका राहदानी, १० ल्यापटप, ६ मोबाइल फोन र करिब ४ हजार रिंगिट नगद पनि फेला परेको छ ।
यस घटनामा २६ देखि ६१ वर्ष उमेर समूहका ९ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा ३ जना नेपाली नागरिक समेत रहेका छन् । बाँकीमध्ये ३ जना भारतीय, १ जना बंगलादेशी, १ जना स्थानीय पुरुष र १ जना भियतनामी महिला छन् । उक्त महिलाले कम्पनी निर्देशकको आवरणमा गिरोह सञ्चालनमा भूमिका खेलेको आशंका गरिएको छ ।
अध्यागमन विभागले यो गिरोह विदेशी नागरिकलाई अवैध रूपमा मलेसिया प्रवेश गराउने कार्यमा पनि संलग्न हुन सक्ने संकेत गरेको छ । अनुसन्धानलाई थप मजबुत बनाउन ६ जनालाई साक्षीका रूपमा बोलाइएको छ ।
हाल यो प्रकरण अध्यागमन ऐन तथा मनी लान्ड्रिङ र आतंकवाद वित्त पोषण रोकथामसम्बन्धी कानुन अन्तर्गत अनुसन्धान भइरहेको छ । मलेसियाको अध्यागमन विभागले प्रहरी र राजस्व निकायसँग सहकार्य गर्दै फरार अन्य सदस्य तथा वित्तीय सञ्जाल पत्ता लगाउने कामलाई तीव्र बनाएको जनाएको छ ।